फेसबुकको भित्तामा आफ्नै बाल्यकालको एउटा तस्बिर पोस्ट गरेँ । त्यहाँ मेरी प्रिय दिदी गीता कार्कीको कमेन्ट आयो, ‘अनि त्यो पेटमा चाहिँ के हालेको नि ?’ ।
एकाएक ३० वर्षअगाडिको घाउ सम्झिन पुगेँ । लगभग १२–१३ वर्षको उमेरदेखि नै ज्यानभन्दा पेट अलि अस्वाभाविक ठूलो भएकी मान्छे म । भारी बोकेर उकालो चढ्दा, कोदालाले निहुरिएर खेतबारी खन्दा अनि भलिबल खेल्दा सास रोकिन खोजेजस्तो भइरहन्थ्यो ।
‘कति सानै उमेरदेखि पेट लागेको हौ ठूली मैयाँको’ खेताला आएका विश्वकर्मा भाउजूहरू छक्क पर्दै पटकपटक यही वाक्य दोहो¥याइरहन्थे । म त झन् कारण थाहा नपाएकै पेट बोकेर उकाली, ओराली, भन्ज्याङ, चौतारी चाहारिरहन्थेँ । यसरी चहार्नु मेरो गाउँले जीवनको जीवनशैली नै थियो ।
अनेकौं बाधा अड्चनका गाँठाहरू फुकाल्दै एसएलसीको फलामे सिँढी बल्लबल्ल पार गरेर उच्चशिक्षा र रोजीरोटीको खोजीमा २०४७ सालमा म काठमाडौँ पसेँ । ‘छोरीले पढेर के काम ? बन्साको बोट, अर्काको घरमा जाने जात, लगानी खेर मात्रै, बालुवामा पानी हालेजस्तै हो छोरीलाई लगानी गर्नु भनेको । ’ यस्ताखाले उखानहरू गाउँभरि सुन्दासुन्दा मेरा कान सुन्नै नसक्ने गरी थाकिसकेका थिए ।
छोरीले पढेर यस्तो काम हुन्छ भनेर देखाउने चाहनाको हुटहुटीले मलाई उडाइरहेको थियो । मैले मनमनै एउटा प्रण गरेकी थिएँ ‘म कसैको लगानीबेगर आफ्नै पसिनाको लगानीमा पढ्छु ।’ यही प्रणलाई हृदयमा राखेर बिहानी कक्षा पद्मकन्या क्याम्पस बागबजार, दिउँसाको काम ट्राभल एजेन्सी ठमेलमा सुरु गरेँ । केटीमान्छे घर छोडेर एक्लै परदेशमा बस्न थालेपछि केसम्म भन्न भ्याए ।
गाउँमा भन्ने कुरा बयान गरेर साध्य छैन । धेरै लामो समयसम्म वडाध्यक्ष पनि स्कुल व्यवस्थापन अध्यक्ष पनि बुबा आफैँ हुनुभएकाले बुबाको बोलीलाई कानुन मान्थे गाउँलेहरू । यस्तो सामाजिक व्यक्तित्वलाई आफ्नै छोरीका कारण अत्यन्तै असहज भएको थियो भन्ने तीतो सत्य मैले महसुस गरिरहेकै थिएँ, तर म त्यो तीतो दबाईका रूपमा पिउथेँ पलपल ।
‘अब छोरी बाहिर अर्काको ठाउँमा एक्लै राखेर बिगार्नसम्म बिगारे अध्यक्ष बुढाले, भोलि कुन चाहिँ कामी, दमाईको भुँडी बोक्छे अनि थाहा हुन्छ’ भन्नसमेत भ्याए भन्दै आमा अँगेनाको पाटामा बसेर मजेत्राले आँसु पुछ्दै भक्कानिनु हुन्थ्यो । बुबा निधारको पसिना पुछेर टोपी भिजाइरहनुहुन्थ्यो घरिघरि । लोग्नेमान्छे रुनु हुँदैन भनेर होला बुबाको आँसु निधारबाट झरेको । आखिर चिन्ता त मेरै त थियो आमाबुबा दुवै जनालाई । यो तनाव असह्य भएपछि मैले अँगेनाको आगो चिर्पट दाउराले खोतल्दै आमाबुबाको मुख नै नहेरी भनेकी थिएँ, ‘अब तपाईंहरू पनि भनिदिनुस् न हाम्री छोरीले कामी, दमाईंसँग नै बिहे गरी भने त्यसैलाई ज्वाइँ भन्छौँ, छोरी हाम्री हो, तिमीहरूलाई के को खसखस ?’
बुबाले आँखा चिम्लेर यसै भन्न थालेपछि सबैको मुख बुजो लाग्यो सायद; मैले त्यतातिर ध्यान नै दिइनँ । सगरमाथाजस्तै अग्लो सपना अनि महासागरजस्तै गहिरो प्रण बोकेर अगाडि बढिरहेकी म केही थाहा पाउँदिनथिएँ कि मेरो पेटभित्र केही बढिरहेको छ, जसका कारण मलाई सास फेर्नै गाह्रो भइरहेको छ । बेलाबेला लामो सास तान्दै सकस निल्थेँ घुटुक्क ।
एक दिन अफिसको रिसेप्सनमा क्लाइन्टको फोन रिसिभ गर्दागर्दै त्यहीँ ढलेछु । सहकर्मी साथीहरूले पानीपट्टि खै केके गरेर ब्युँझाएछन् । धेरैबेर आराम गरेपछि उनीहरूले नै कोठामा पु¥याए । साँझमा झन् गाह्रो हुन थाल्यो, दोहोरो सास नै नचल्नेजस्तो हुन थालेपछि नजिकैको क्लिनिकमा दबाई सोध्न गएँ । डाक्टरको सल्लाहबेगर दबाई दिन नमिल्ने भन्दै भित्र कोठामा लगेर डा. इन्दिरा सत्यालसँग भेटाइदिए । डा.ले तुरुन्तै भिडियो एक्सरे गराउनुभयो र रिपोर्ट हेरेपछि मेरा बारेमा घरठेगाना सबै सोध्नुभयो । घर सोलुखुम्बु, यहाँ विद्यार्थी हो एक्लै बस्छु भन्ने मेरो हुलिया सुनेपछि उहाँ आफैँले आँत्तिँदै प्रसूतिगृह थापाथलीमा कल गर्नुभयो र भन्दै हुनुहुन्थ्यो ‘मेरो बिरामी त्यहाँ आउँदैछ, अहिले भर्ना गर्नू, भोलि या पर्सी नै अप्रेसन गर्नुपर्छ, प्लिज बि कियर, इट इज रियल्ली सिरियस केस’ ।
यति भनेर फोन राखेपछि मलाई अह्राउन थाल्नुभयो ‘तपाईं तु. प्रसूतिगृह जानुस्, त्यहाँ केही भन्नु पर्दैन यही कार्ड देखाउनुस् सबै उनीहरूले गर्छन्, भोलि बिहानै म आउँछु । ’ म आज्ञाकारी भएर त्यहीँबाट थापाथली प्रसूतिगृह पुगेँ र भर्ना भएँ । त्यहाँका स्टाफहरू पनि मलाईभन्दा बढी मेरो पेटलाई नै हेरिरहेजस्तो लाग्थ्यो । प्रायः सबै बिरामी बच्चा जन्माउने व्यथा लिएर मात्र आएका हुँदा रहेछन् त्यहाँ फेरि मलाई किन पठाउनुभयो त डाक्टरले !! एक्लै छक्क पर्थेँ । सल्लाह गर्ने कोही साथी पनि त थिएन । राति सबै जना निदाए, म भने झ्यालको कापबाट बाहिर नियालिरहेँ रातभरि ।
भोलिपल्ट बिहान डाक्टर इन्दिरा आउनुभयो र गाला मुसार्नुभयो, ढाडमा धाप मार्दै भन्नुभयो ‘नडराउनू है बेटा म छु ।’ तर म किन डराउनुपथ्र्याे, कति डराउनुपथ्र्याे केही थाहा नपाएरै हस् भनिदिएँ । सबै बिरामीले आफन्तले घरबाट ल्याएको फलफूल, खाना, खाजा खाइरहन्थे । मसँग कुनै भोक थिएन, पेट फुलेर चक्कर लाग्ने अनि सास फेर्न सकस हुने रोगमात्र थियो । ती सबै बिरामी र उनीहरूका आफन्तले मेरै पेट हेरिरहेजस्तो लाग्थ्यो । एकजनाले त सोधिहालिन् ‘नानी तिम्रा श्रीमान् कहाँ छन् र ! यस्तो सकस हुँदा नि किन नआएका ? सासूससुरा, नन्दआमाजू किन कोही नआएका साथी ?’ मेरो बिहे भएकै छैन दिदी भनेर भन्न नभ्याउँदै ती सबैले औँला टोके एकैचोटि । मैले मेरै औँला हेरेर टारेँ ।
भर्ना भएको भोलिपल्ट नै अप्रेसनको मिति तय भएछ । नर्सहरू आएर अपरेसन थ्रिएटर लग्दा पो थाहा पाएँ । मेरो शरीर जन्मँदाजस्तै बनाएर एउटा हरियो गाउन फेरिदिए अनि बेडमा सुताए । ‘रेणुका बस्नेतको कोही हुनुहुन्छ’ भन्दै ढोकामा को चिच्याइरहेको आवाज सुनिरहेकी थिएँ । एकैछिनमा फेरि ‘कस्ता भिजिटर हुन्, बिरामी अप्रेसन रुममा छोडेर कता गका हुन्, कि छोडेर भागे, कति बोलाउँदा नि सुन्दैनन् त !
म त डाक्टरले लगाइदिएको सुइले लठ्ठिँदैथिएँ सायद ! पेट चिरिँदै थियो ‘.. । डा. इन्दिराको मधुरो आवाज सुनिरहेकी थिएँ ‘ल्याऊ के छ सामान, म जिम्मा लिन्छु, उसको घर उति टाढा सोलुखुम्बु हो, कोही छैन बिचरीको यहाँ, एकदिन गाडीमा अनि तीन दिन हिँडेर जानुपर्छ घर पुग्न भन्दै थिई, एक्लै पढ्न बसेकी केटी हो, इनोसेन्ट गाउँले केटी, अब यस्तो बेलामा म नै हो उसको मान्छे’. ।’ यस्तै केके सुन्दा सुन्दै मैले सुन्नै छोडेँ । केही नसुन्नु र केही नदेख्नु पनि कति आनन्द । न पीर न चिन्ता न रिस न डाह न छटपटी.. । घण्टौँपछि होस खुल्दा पो हेर्दा त मेरो बायाँ हातमा स्लाइनको पाइप झुन्डिएको, दायाँ हातको पाखुरामा एउटा फुली, एउटा सिको फाइभ घडी अनि तीन हजार रुपैँया राखेको त्यो मेरो कम्मर ब्याग बाँधिइराखेको रहेछ । यति मेरो सम्पत्ति बोकिदिने आफन्त पनि नभएको पीडाले एकछिन बेस्सरी दुखायो तर पनि पीडा त्यही ब्यागभित्र पोको पारेर पाखुरामा नै बाँधिराखेँ । अर्को विकल्प पनि त थिएन ।
दिउँसो ४ बजेतिर डा. इन्दिरा फेरि आउनुभयो र गाला मुसार्दै भन्नुभयो, ‘यु आर अ लक्की गर्ल, कस्तो समयमा मसँग भगवान्ले भेट्टाइदिए, केही ढिँला भएको भए बाँच्ने त नो चान्स कालु । तिम्रो रोग यहाँ फालिएको छ ल हेर त ।’
१० लिटरको रातो बाल्टिनभित्र लगभग पाँच केजीको जत्रो मासुको थुप्रो, भ्यागुताको भुँडीजस्तो नीलो, हरियो, रातो धर्सैधर्सा जिलजिलाएको । बिस्तारै मेरो पेट छामेँ, पेट त ओडारजस्तो कता हो कता भित्र पो पसेछ । फेरि वरिपरिका बिरामी र उनका आफन्त कानेखुसी गर्दै थिए ‘यो केटीको त बच्चा पाउने अप्रेसन त होइन पो रछ, पाठेघर नै फालेजस्तो छ बिचरा, आफन्त नि कोही रैनछ, एक्लै कस्तो नडराको यत्रो पाठेघरजस्तो कुरा फाल्न, अब विवाह नि हुँदैन, बच्चा त झन् हुने कुरै भएन, बाँच्नुको के अर्थ अब केटी मान्छेले ? कस्तो भाग्य बिचराको कठैबरा.. ।’
अस्पतालको शय्यामा जीवनमरणको दोसाँधमा छट्पटिँदै गर्दा पनि त्यही बिहे र बच्चाको खासखुस सुन्दा ती मानसिकताप्रति उल्टै दयाको बान्ता हुँडलिएर आउँथ्यो । जवाफ फर्काउनुको कुनै तुक थिएन र सबै निल्थेँ आफैँभित्र । यस्ता मानसिकता निल्न गाउँमा नै सिकिसकेकी थिएँ ।
अप्रेसन गरेको एक हप्तापछि अस्पतालका डाइरेक्टर, सिनियर डाक्टरको जम्बो टोली लिएर डा. इन्दिरा मेरो बेडनजिक आउनुभयो । मलाई देखाउँदै भन्नुभयो ‘सि इज वान अफ दि इनोसेन्ट बट स्ट्रोङ लेडिज । बधाई कालु आज तिम्रो घाउको बायोप्सी रिपोर्ट आयो । थ्यान्क गड धन्न क्यान्सर भइसकेको रहेनछ !’
डाइरेक्टरदेखि, डाक्टर, नर्स सबैले ताली बजाउँदै ‘अ बिग कंग्याचुलेसन, रियल्ली यु आर वान अफ द स्ट्रोङ लेडिज, प्राउड अफ यु’ भनिरहे धेरैबेरसम्म । मचाहिँ कुनै नाटक मञ्चन भइरहेको छ कि फिल्म सुटिङ भइरहेको छ, के यो सत्य घटना हो कि के हो ! जस्तो सोचेर हेरिरहेकी थिएँ । डा.इन्दिरालाई कानमा सुस्तरी सोधेँ ‘डाक्टर ! मेरो पाठेघर फालिएको हो ? यता वरिपरि खासखुस त्यस्तै सुन्छु ।’
डाक्टरले भन्नुभयो ‘धत् लाटी ! पाठेघर होइन, पाठेघरको साइडमा पलाएको सिस्ट फालेको, बढेर कत्रो भइसकेको रहेछ, धन्न क्यान्सर हुन पाएको रहेनछ । रियल्ली यु आर लक्की माई डियर, लभ यु सो मच, डन्ट ओरी यु आर अल फाइन नाउ ।’ यसो भन्दै डाक्टरले मलाई सुमसुम्याइरहँदा आमाको प्रतिविम्ब नाचिरहन्थ्यो आँखैभरि, आमाकै माया सल्बलाइरहन्थ्यो मुटुभरि ।
बिचरा सात डाँडापारि यो व्यथाबाट बेखबर रहेकी मेरी आमालाई के थाहा छोरीले कसैको स्पर्शबाट आमाको माया महसुस गर्दै छे भनेर । त्यतिबेला सञ्चारको सुविधा पनि थिएन । हुलाकबाट चिठी पठाएकी थिएँ । दसैंमा म पुगेपछि पो पुग्यो त्यो चिठी । चिठी नपुगे पनि छोरीले कसको भुँडी बोकेकी थिई, फाली रे भन्ने खबरचाहिँ हावाले नै पु¥याएछ । आमाले यस्तो खबर सुनाउँदा एकछिन त चक्कर लाग्यो बेसरी, भाउन्न छुट्यो, राँको बालेर सबै डढाइदिऊँ र खरानी उडाऊँ जस्तो पनि लाग्यो तर पनि कुराका पछाडि लागेर समय बर्बाद पार्नुभन्दा कामका पछाडि लागेर परिणाम देखाउनुपर्छ भन्दै आफ्नै जीवनका भावी योजना अनि संकल्प सम्झेर फेरि कर्मथलो फर्किएँ । हिँड्ने अघिल्लो साँझ आमाबुबालाई सम्झाएँ ‘हजुरहरूको आँसुलाई खुसीमा बदल्न केही समय धैर्य गर्नुस्, म यिनै आँसुलाई शक्तिमा बदलेर कर्म गरिरहेकी छु ।’
मैले सम्झाउँदै गर्दा अँगेनाको पाटामा बस्दै गरेकी मेरी आमा फरियाको सप्को तानेर आँसु र सिँगान सँगैसँगै सोहोर्दै हुनुहुन्थ्यो अनि मूलओछ्यानमा बुबा निधारभरि छुटेको पसिनाको धारा पुछेर टोपी भिजाउँदै हुनुहुन्थ्यो । लोग्नेमान्छे रुनु हुँदैन भनेर होला सायद बुबाले बल गरेर आँसु थाम्दा आँखाको बाटो ब्लक भएर निधारबाट भेल बगेका । यस्तो असजिलो परिस्थिति थियो कि भाइबहिनी सानै थिए, मेरा आमाबुबालाई मेरा बारेमा सम्झाउने अरू कोही थिएन ।
त्यसैले मुटुमाथि ढुंगा राखेर म सम्झाइरहेकी थिएँ अँगेनाको आगो चिर्पट दाउराले खोतल्दै ‘आमाबुबाको मुख हेरेर त बोल्न सक्ने माहोल नै थिएन । आँसुसँग कस्तो बात मार्ने अनि कसरी बात मार्ने !’ र पनि म निर्भीक बोलिरहेकी थिएँ यी आवाज, म अलिकति पनि विचलित थिइनँ किनकि मैले बोकेको भुँडी अरू कसैको नभै मेरो आफ्नै हो भन्नेमा मलाई भन्दा बलियो विश्वास अरूलाई हुने कुरा पनि त थिएन ।
(लेखिका डा. रेणुका साेलु, त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिन अफिस प्रशासन प्रमुखसमेत हुन् । उनले महिला सशक्तीकरणको सवालमा निरन्तर कलम चलाउँछिन् ।)
प्रतिक्रिया