पुस १६ गते ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । जननायक बीपी कोइराला, गणेशमान सिंहलगायत आफ्ना केही सहकर्मीहरू साथै लिई आठ वर्षभन्दा लामो प्रवासबाट नेपाल फर्किएको दिन अर्थात् २०३३ साल पुस १६ गते । नेपाली कांग्रेसका सदस्य तथा सम्पूर्ण प्रजातन्त्रवादीहरूका निम्ति पवित्र पर्व वा तिथि । यसको स्मरण मात्रले पनि एउटा प्रजातान्त्रिक चेतना भएको व्यक्ति समर्पण र सहादतका लागि उत्प्रेरित हुन्छ ।
राष्ट्रको उत्थानका निम्ति सबै नागरिकहरूको एकताबद्ध प्रयास, त्यसका निम्ति कसिलो एकता र नागरिक अधिकारको बहाली प्रमुख सर्त हो । तत्कालीन समयमा शासनको बागडोर लिएका राजा र उनको नेतृत्वमा चलेको निर्दलीय पञ्चायती व्यवस्था निरंकुश तथा जनविरोधी थियो । देशको आर्थिक अवस्था धेरै नाजुक थियो, वैदेशिक ऋण र अनुदानमा पूर्णतया निर्भर ।
पञ्चहरूले राजालाई घेरेर राखेका थिए । राष्ट्रियता माथि संकट छाएको थियो । छिमेकी देशहरू टुक्रँदै थिए र कोही सार्वभौमसत्ता गुमाउँदै थिए । देशको भविष्य अन्योलपूर्ण थियो । उहाँ माथि राजद्रोहका ७-८ वटा मुद्दा थिए । यस्तो विकराल परिस्थितिमा बीपीले राष्ट्रिय एकता तथा मेलमिलापको नीति अख्तियार गरी नेपाल फर्किनु भएको थियो । त्यस समयको पहिलो प्राथमिकता राष्ट्र जोगाउनु थियो । प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन त निरन्तर अघि बढाउन सकिन्थ्यो ।
कमजोर संस्था, परिवार वा राष्ट्रले आफ्नो उन्नतिका लागि संस्थागत, पारिवारिक र राष्ट्रिय एकतालाई मजबुत पार्नु भविष्यका निम्ति बलियो आधार र पहिलो प्राथमिक आवश्यकता हो । आन्तरिक एकता वा मेलमिलाप बिना आत्मसुरक्षा र उन्नति सम्भव नै छैन । जसले यस सत्यलाई आत्मसात् गर्छ, तत्कालका चुनौतीहरूले रोक्न सक्दैनन् । ठूला र भयानक संकटसँग सहजै मुकाबिला गर्न सकिन्छ । तसर्थ राष्ट्रिय अस्तित्व संकटमा परेको बेला आफ्ना निजी र वैयक्तिक स्वार्थ र संकटलाई गौण राखेर काम गर्नुपर्छ भन्ने मन्त्रलाई आत्मसात् गरेर बीपीले आफ्नो जीवनमाथिको जोखिमलाई नजरअन्दाज गरेर यो नीति अवलम्बन गर्नु भएको थियो । जसको परिणामस्वरूप नेपाल जोगियो र आज हामीले वादविवाद गर्न पाएका छौं ।
नेपाल इतिहासका निकै ठूला आरोह अवरोह पार गरेर आजसम्म बाँचेको र आइपुगेको देश हो । राजाहरूको शासन जनउत्तरदायी हुन सकेन । राणाहरूले त देशलाई आफ्नो बिर्ता नै ठाने । शासनप्रणाली पूर्णतया जहानियाँ र मनोगत थियो । शासन प्रणालीका विश्वव्यापी मान्यता र सिद्धान्तको कुनै हेक्का थिएन । जनता माथिको विभेद अकल्पनीय र चरम थियो । यी सबै जनविरोधी तथा सामन्ती समाज व्यवस्थालाई उखेलेर २००७ सालमा प्रजातन्त्रको स्थापना भएको थियो । तर यसलाई संस्थागत हुनै दिइएन र त्यसपछि र २०१७ साल ल्याइएको थियो ।
बिना कसुर लोकतान्त्रिक प्रक्रियाबाट जननिर्वाचित प्रधानमन्त्रीलगायतका नेताहरूलाई जेल हालिएको थियो । यही अत्याचारमा परेर बीपीले आठ वर्ष लामो काराबास बेहोर्नु परेको थियो । तत्पश्चात् उहाँको भारत प्रवास प्रारम्भ भएको थियो र योसमेत आठ वर्ष चल्यो । यस ऐतिहासिकताको राष्ट्रिय धरातल र अन्तर्राष्ट्रिय पृष्ठभूमिमा राष्ट्रिय एकता र मेलमिलापको नीति अगाडि आएको थियो ।
लोकतान्त्रिक शासन प्रणाली जनताको सहभागिता र निरन्तरको खबरदारीले चल्छ । तानाशाहहरू वा तानाशाही व्यवस्थामा जनताको कुनै स्थान हुँदैन । जनताको करलाई उपभोग गरेर जिन्दगी गुजारा गर्ने परजीवी सामन्तहरू नैं तानाशाह हुन् । उनीहरूलाई राष्ट्रको प्रगति र प्रतिष्ठासँग पनि खासै सरोकार हुदैन । तर सच्चा लोकतन्त्रवादीले हरघडी, हरपल आफ्नो देश, समाज र जनताको चिन्ता गरिरहेको हुन्छ । यस्ता महान् लोकतन्त्रवादी हुनुहुन्थ्यो बीपी कोइराला । त्यसैले समकालीन समाजले उहाँको स्मरण गरिरहन्छ ।
२०१५ सालको संसदीय निर्वाचनको परिणामपछि राजालाई भेट्दा प्रधानमन्त्री भएपछिको आफ्नो कार्ययोजना प्रस्तावमा उहाँले १५ वर्षभित्र सबै नेपालीहरूलाई आफ्नो परिवारको जीवनस्तरमा पुर्याउने अठोट व्यक्त गर्नु भएको थियो । यो चिन्ता आजसम्म कुनै नेताले गरेन । वास्तवमा राजनीतिको ध्येय भनेकै जनतालाई अधिकार सम्पन्न र उसको जीवनलाई सुखद बनाउने हो । जनताको जीवनमा परिवर्तन ल्याउन नसके राजनीतिको सार्थकता रहँदैन ।
सही मानेमा राजनीति नै जनताका लागि हो । यो कुरा बीपीले राम्रोसँग बुझ्नु भएको थियो । जनताका लागि काम गर्न देश नामक संस्था सुरक्षित हुनुपर्छ भन्ने उहाँमा होस थियो । त्यही होसका कारण उहाँ आफ्नो जीवन माथिको जोखिमलाई समेत नजरअन्दाज गरेर नेपाल फर्किनु भो । सामान्य र औसत मानिसहरू आफ्नो जीवनलाई बहुमूल्य ठान्छन् तर महान् व्यक्तिका लक्षण फरक हुन्छन् । त्यसैले उनीहरूलाई समाजले पत्याउँछ र विश्वास गर्छ ।
अहिलेको हाम्रो चर्चाको मुख्य विषय एकता र मेलमिलापको छ । दुःखका साथ भन्नु पर्छ, यो बेवारिस हुँदै गएको छ । सर्वप्रथम त कांग्रेसभित्र अपेक्षित एकता छैन । पारस्परिक विश्वास र हार्दिकता छैन । यसले समग्र राजनीतिमा नै निराशा छाएको छ । अनि मुलुकको राजनीतिमा समेत अस्थिरता बढाएको छ । नयाँ पुस्ताको भविष्यलाई अन्योल बनाएको छ । तसर्थ बेवारिस हुँदै गएको एकता र मेलमिलापको सान्दर्भिकतालाई पुनरुत्थान गर्नु आजको पहिलो आवश्यकता हो ।
यसले मात्र देश उँभो लगाउँछ, पार्टी बचाउँछ, देशको राजनीतिलाई सुधार्छ र नयाँ पुस्तालाई उसको भविष्यप्रति आश्वस्त पार्छ । आजको ऐतिहासिक आवश्यकता यही हो ।
प्रतिक्रिया