देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँदरका सन्तानको नियति र गन्तव्य

देशान्तर

लेखक : माथवरसिंह वस्नेत

बाँदरले आफ्नो घर बनाउँदैन, अर्काले बनाएको घर पनि भत्काइदिन्छ भन्ने युगौंदेखि चलेको उखान अहिले चलनचल्तीमा छैन, तापनि त्यसको व्यावहारिक प्रयोग भने बारम्बार दोहोरिने गरेको छ । काठमाडौं उपत्यकाभित्र खेतीयोग्य जमिन मासेर सबैतिर घरैघर बनाउने प्रवृत्तिको विकास भएकाले बाँदरको वासस्थान पनि तीव्र गतिमा मासिने नै भयो ।

उनीहरू अहिले पशुपतिनाथ मन्तिर परिसर र स्वयम्भूको चैत्य वरिपरिका पाटी–पौवालाई शरणार्थी शिविरमा परिणत गरेर त्यसैमा सीमित हुन पुगेका छन् । त्यसैले अर्काले बनाएको घर उनीहरूले भत्काइदिने सवालै उठेन । त्यस्तो मूर्खता उनीहरूले देखाएनन् । त्यसमाथि शरण दिनेको मरण गर्नुहुन्न भन्ने अर्को उखान, मान्छेले बिर्से पनि उनीहरूले भुलेका रहेनछन्, त्यो पनि सावित भयो । त्यसबाट उनीहरू मानिसभन्दा कति विवेकशील तथा शान्तिप्रिय रहेछन्, त्यो पनि प्रमाणित भयो ।

बाँदरले समेत तुच्छ ठानेर त्यागेको आफ्नो घर नबाउने र अर्काले बनाएको घरचाहिँ जसरी भए पनि भत्काई छाड्ने प्रवृत्ति, अहिले कम्युनिस्टका अनगिन्ती समूहमध्येको सबैभन्दा ठूलो ओलीको नेतृत्व रहेको एमालेले टपक्क टिपेर कसरी आफूभित्र जिउँदो राखेको छ, त्यो उसले निकट अतीतमा पटकपटक संसद् भंग गरेका घटनाले मात्र होइन, अहिले संसद्का दुवै सदन चल्नै नदिएर त्यसलाई निकम्मा सिद्ध गर्ने घोर असंसदीय कसरतले पनि पुष्टि गर्न पुगेको छ । जुन संसद्ले उसलाई शक्ति र सत्ता प्रदान गरेको हो, त्यसैलाई ध्वस्त पार्न उद्यत् हुनु भनेको आफू बसेको हाँगो काट्न खोज्नुको सटिक उदाहरण हो । अनि हो, संसदीय व्यवस्था र प्रजातन्त्र दुवैमाथि उसको आस्था र विश्वास नभएको तथ्यको ठोस प्रमाण पनि !

झन्डै दुई तिहाइ बहुमत भएको संसद्लाई बाँदरको हातको नरिवल तुल्याएको दुष्परिणामस्वरूप उसका आङभरि लागेका चोटपटकका आला घाउका पीडा र कुण्डालाई लुकाउन नसकेर प्रकट भएका बहुलठ्ठीपन हो भन्ने बुझ्न नसकिने कुरा छैन । राजनीतिका साना–ठूला सबै खेलाडीले त्यो यथार्थ बुझेका छन् । नेपाली जनताले पनि कम्युनिस्ट र प्रजातन्त्रका बीचको दार्शनिक तथा व्यावहारिक अन्तरविरोधलाई राम्ररी पर्गेल्ने अवसर पाएका छन् । हुन त यसअघि सोझा नेपाली मतदाताका के कुरा, कथित् बाठा बुद्धिजीवीले समेत त्यो अन्तरविरोधलाई खुट्ट्याउन नसकेकाले कांग्रेस र कम्युनिस्ट भनेका हात्तीछाप चप्पल हुन् भन्ने भ्रम पाल्न पुगेका थिए । वास्तवमा नेपालको अहिलेको दुर्दशा भनेकै पढेलेखेका मूर्खहरूका तिनै भ्रम र द्विविधाका कारण उत्पन्न भएका हुन् ।

यो सत्य हो कि कम्युनिस्टलाई प्रजातन्त्र कुनै हालतमा हजम हुँदैन । झन् संसदीय व्यवस्था त उनीहरू फुटेका आँखाले पनि हेर्न चाहँदैनन् । भलै, भारतमा निर्मित तथा नेपालमा निर्यातित लोकतन्त्रसमेत पचाउने हजमोला उनीहरूले पर्याप्त उपयोग गर्ने गरेका किन नहुन्, तैपनि उनीहरूलाई प्रजातन्त्र अजीर्ण हुने गरेकै छ ! माक्र्सवादमा युरो–कम्युनिजमको नेपाली अनुवाद– जबज अर्थात् जनताको बहुदलीय जनवादको मुलम्मा लगाएर त्यसलाई आँखा चिम्लेर पिए पनि घाँटीबाट त्यो तल झर्न पाएको हुँदैन, प्रजातन्त्र उल्टी भइहाल्छ । त्यसैले उनीहरू त्यसलाई चारैतिरबाट चिथोरेर क्षत्–विक्षत तुल्याउन मात्र होइन, निकम्मा सावित गरेर ध्वस्त पार्न कटिबद्ध छन् । आजका विचार र व्यवहारका बीचको विरोधाभाष तथा भद्रगोल त्यसैको परिणाम हो । उनीहरूका दस्तावेज हेर्दा होनहार कम्युनिस्ट देखिने तर व्यवहारमा घोर प्रतिक्रियावादीभन्दा निम्नस्तरमा झरेको देखिनु विडम्बना मात्र होइन, त्यो उनीहरूको नियति नै हो ।

कम्युनिस्ट जातका विभिन्नथरी संगठनले नाम जे ग्रहण गरेका भए पनि उनीहरूको राजनीतिक मिसन भने एउटै छ, त्यो हो– प्रजातन्त्रलाई असफल तुल्याएर ध्वस्त पार्नु र कम्युनिस्ट अधिनायकवादको औचित्य सावित गर्नु । नेपालका कम्युनिस्टहरू जतिसुकै टुक्रामा विभाजित किन नहुन्, ती सबैको एउटा विषयमा मतैक्य छ, त्यो हो, प्रजातन्त्रलाई असफल भएको प्रमाणित गर्नु । त्यही उनीहरूको अन्तिम लक्ष्य हो कार्यदिशा पनि त्यही हो । त्यसरी विश्लेषण गरियो भने उनीहरू सबैको साझा लक्ष्य एउटै भएको तथ्य थप प्रष्ट हुनेछ । संसदीय प्रजातन्त्रलाई असफल घोषित गर्न खोज्दाखोज्दै आफैं असफल भएर आत्महत्या गर्नु परे पनि पछि नहट्ने तर संसदीय व्यवस्थालाई कुनै हालतमा सफल हुन नदिने, त्यही उनीहरूको ‘जिहाद’ हो । आफ्नो पार्टीको बहुमतको संसद्, दुई पटकको भंगले त्यही तथ्यको पुष्टि हुन्छ ।

संविधान, संसद्, अदालत मात्र होइन, विधि र प्रक्रिया केही पनि नमान्ने उनीहरूको दुराग्रहले पनि दिशा र गन्तव्य खुलस्त पार्छ । अर्थात् उनीहरू मुलुकलाई जहाँ पु¥याउन चाहन्छन्, त्यसको नाम हो, नरक । संसद्का दुवै सदन खुला छन् तर प्रमुख प्रतिपक्षले तिनलाई अवरुद्ध तुल्याएका छन् । सर्वोच्च अदालत खुला छन्, न्यायाधीश पनि हाजिर छन् तर मुद्दा सुनुवाइ हुँदैन । जनताले न्याय पाउँदैनन्, न्यायाधीशले भने कामै नगरी तलब बुझ्छन् । यस्तो अराजक स्थितिले जहाँ पु¥याउँछ, त्यो भनेको नरक नै हो भन्नेमा शंका र द्विविधा रहन्न ।

गलत नीति र नेतृत्वले कम्युनिस्टलाई कहाँ पुर्‍याउँछ, त्यसको उदाहरण हेर्न परे युरोप नै पुग्नु पर्दैन, छिमेकी भारतलाई हेरे पुग्छ । भारतका कम्युनिस्ट कुनै बेला सत्ता कब्जाको योजना कार्यान्वयन गर्ने स्थान र स्थितिमा थिए । तर आज संसद्मा उनीहरूको अवस्था शिला खोज्नु पर्ने हुन पुगेको छ । पश्चिमी युरोपमा दोस्रो विश्वयुद्धपछि सोभियत संघको शैलीको कम्युनिस्ट क्रान्तिसँग मतभेद जनाएर युरो–कम्युनिजम अपनाएदेखि सत्तरीको दशकसम्म आइपुग्दा इटाली, फ्रान्स, जर्मनी र स्पेनका संसद्मा कम्युनिस्टहरूको सशक्त उपस्थिति सम्भव भएको थियो ।

बुद्धिजीवीहरू अनुमान लगाउन थालिसकेका थिए, युरोपमा बुलेटले होइन, ब्यालेटले कम्युनिजम ल्याउँछ । त्यसलाई अब कसैले रोक्न सक्तैन । त्यो निष्कर्षमा किन पुगेका थिए भने युरो कम्युनिजमवालाहरू प्रजातान्त्रिक समाजवादमाथि विश्वास गर्ने सोसल डेमोक्र्याटहरूलाई पनि उछिनेर क्रान्तिकारी परिवर्तनको झन्डा फहराउन मात्र थालेका थिएनन्, सत्ताको निकट पुगेर मार्चपास्टसमेत गर्न थालिसकेका थिए ।

प्रजातान्त्रिक समाजवादीहरूकै घोषणापत्रको फोटोकपी देखाएर युरो–कम्युनिजमको नयाँ नाराले युरोपेली मुलुकका मतदाताहरलाई भ्रममा राख्न सकेन । दुई, तीन निर्वाचनपछि नीलो रंगको स्यालको नक्कली रंग खुइलियो । उनीहरूले के बुझे भने कम्युनिस्टहरू प्रजातन्त्रको हतियार प्रयोग गरेर प्रजतन्त्रकै अन्त्य गर्न हिँडेका छन् । त्यसपछि कम्युनिस्टहरू वास्तविक साइजमा झर्न थाले । अहिले पनि उनीहरूले निर्वाचनमा भाग लिन त छाडेका छैनन् तर क्रेज घट्दै गएकाले सत्तामा पुग्ने सम्भावना भने सकिन पुगेको छ । नेपालका कम्युनिस्टको नियति र गन्तव्य पनि उनीहरूको भन्दा भिन्न छैन ।