नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएको छ । उत्साह, एकता र रूपान्तरण नारा बोेकेर महाधिवेशनमा होमिएको मुलुककै ठूलो र लोकतान्त्रिक पार्टी कांग्रेसको यो महाधिवेशनले मिश्रित सन्देश दिएको छ । पुराना र नयाँ अनुहारलाई नेतृत्वमा पुर्याएको छ ।
बासी अनुहारलाई फ्याकौं र नयाँ अनुहारलाई ल्याऔं भन्ने युवा भावना जागृत भएको छ । फेरि मूल नेतृत्वमा युवालाई विश्वास नगरिसकेको अवस्था पनि छ । १४ औं महाधिवेशनको सन्देश के हो भने कांग्रेस पार्टी खुला प्रतिस्पर्धामा विश्वास गर्दछ र नेतृत्व चयन पनि सोही प्रतिस्पर्धाबाट गर्दछ भन्ने नै हो । अर्को भनेको कांग्रेसमा युवाहरूको सम्भावना अपार छ भन्ने पनि देखाएको छ । अहिलेको महाधिवेशनमा यदि निर्वाचन नभएको भए गगन, विश्वप्रकाशहरू अहिल्यै नेतृत्वमा आउन सक्ने वातावरण नै बन्ने थिएन ।
कांग्रेसको क्रियाशील सदस्यता वितरणले युवाहरूलाई पार्टीमा आकर्षण गराएको देखिन्छ । क्रियाशील सदस्य भएका युवाहरूले आफ्नै उमेर समूहकालाई केन्द्रीय कमिटीमा मत हालेकै कारण यो महाधिवेशनले कांग्रेसलाई बूढो, प्रजा परिषद् हुन थालेको या खिइँदै गरेको पार्टी भन्ने आरोपलाई पनि केही हदसम्म पखाल्ने काम पनि गरेको छ । यो पार्टीले जसरी नेतृत्व चयनमा खुला निर्वाचन आत्मसाथ गर्यो ।
त्यसले नेपालको एक मात्र लोकतान्त्रिक पार्टी हुँ भनेर कांग्रेसले प्रमाणित पनि गरेको छ । एमालेको महाधिवेशनमा केपी शर्मा ओलीले तीन सय जनाको लिस्ट पढ्ने काम गरे । त्यसको ठिक उल्टो नेपाली कांग्रेस चुनावी प्रतिस्पर्धामा बकाइदा उम्मेदवारी दर्ता गरेर मैदानमा उत्रियो । फलस्वरूप, कतै चुनाव हारिन्छ कि भनेर देशका प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिले भोट हाल्ने लाइनमै पुगेर मत मागको दृश्यले पनि यसलाई पुष्टि गरेको छ । यसको स्पष्ट सन्देश के पनि हो भने अबका दिनमा कार्यकर्ता रिझाउन सकियो भने मात्रै नेता बन्न सकिँदो रहेछ वा कांग्रेस टीके प्रथाको विपक्षमा छ भन्ने नै हो ।
अझ अर्को कुरा नेपाली कांग्रेस सधैं गुटको सिकार हुने गर्छ । राम्राभन्दा पनि हाम्रा मान्छेले मात्रै स्थान पाउँछन् भन्ने आरोपलाई पनि केही हदसम्म चिर्न सफल भयो । जसका कारण यो पटक कांग्रेसभित्रको गुट तितरबितर बने । अघिल्लो महाधिवेशनमा जस्तो प्रष्ट तीन गुट देखिएन् । कृष्ण सिटौला देउवामा समाहित भए भने शेखर कोइराला, गगन थापा उदाए । ४० प्रतिशत मत ल्याएको शेखर पक्षले विगतमा जस्तो भागबन्डाको राजनीति गर्दैनौं भनेर सन्देश दिइसकेको छ । जसले गर्दा नेपाली कांग्रेसमा अब गुटहरू निर्माण नहुने अनुमान पनि गर्न सकिने अवस्था आएको छ ।
महाधिवेशनको निर्वाचनका बेला शेरबहादुर देउवाबाट पार्टी चल्दैन भन्ने आवाज घनिभूतरूपमा उठेको थियो र त्यसको नेतृत्व डा. शेखर कोइरालाले गरे । त्यसले सम्मानजनक मतसहित कांग्रेसभित्र जनमत सिर्जना गर्नुका साथै आकर्षण पनि बढायो । डा. शेखरको पराजयले के देखायो भने पार्टीको प्लेटफर्ममा जानका लागि पब्लिक प्लेटफर्मको मन जितेको हुनुपर्छ भन्ने कुरा पनि कांग्रेस पार्टीभित्र स्थापित भएको छ ।
अब धनराज, गगन, विश्वप्रकाश चाहिँ अहिलेको सोसल मिडियाबाट पब्लिकसँग जोडिए । त्यसबाट पाएको लोकप्रियतालाई पार्टीको प्लेटफर्ममा जोड्न उनीहरू सफल भएकैै हुन् । त्यसमा उनीहरू धेरै हदसम्म सफल पनि पाए । कांग्रेस परम्परागत तवरले नेतृत्व चयन हुने गथ्र्यो । पब्लिकमा स्थापित नभएका तर पार्टीमा स्थापित भएकाहरूले नै नेतृत्वमा पुग्थ्यो । यो पटक त्यसो भएन । यो निर्वाचनको हारजितलाई तुसको रूपमा लिइयो र आगामी निर्वाचनमा घात, अन्र्तघात गर्न थालियो भने कांग्रेस फेरि स्खलित हुन्छ । देउवा र कोइरालाबीच उच्च राजनीतिक दृष्टिकोणसहित आन्तरिक प्रतिस्पर्धा सकियो अब मिलेर आगामी निर्वाचन फेस गरौं भन्ने सहमति भयो भने त्यो ऊर्जाले तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसले सुखद परिणाम ल्याउँछ ।
सुधारको अपेक्षा गर्न सकिन्छ । अहिले निर्वाचित नेताहरूमा आम जनताको भरोसा अडिएको छ । अहिले कस्तो गुञ्जायस छ भने कांग्रेस सुधारका लागि बाध्य छ । किनभने युवाहरू नेतृत्वमा आएका छन् । त्यसले पनि कांग्रेसमा फरक प्रकारको गतिशीलता आवश्यक छ भन्ने विचारहरू बाक्लो रूपमा पाइन्छ । मूल नेतृत्वमा पुरानै अनुहार आए पनि त्यसपछिको नेतृत्व फ्रेस र युवा भएकाले पनि झक्झकाउन सक्छ ।
परिपक्व नेताको अनुभव र युवाहरूको जोशका कारण कांग्रेसमा भरोसा गर्नेहरू बढेको छ । फेरि नयाँ नेताहरूको परीक्षणको बेला पनि हो । नेतृत्वलाई गरेन भनेर आलोचना गर्नेहरूले जिम्मेवारी पाएपछि के कति गर्छन् भन्ने परीक्षा पनि सुरु भएको छ । युवाहरूले आफूलाई परिवर्तनको संवाहकको रूपमा प्रमाणित गर्न सकेनन् भने अर्को महाधिवेशनबाट युवाहरूको चुरिफुरी बन्द हुन्छ । असफल हुने अहिले कसैलाई छुट पनि छैन् । मूल नेतृत्वमा पुरानै ‘स्लो’ स्वभावका देउवा नै आउनु भयो । तर यो पटक उहाँलाई पनि छुट छैन् ।
नयाँ अनुहारको साथमा अघिल्लो २०७४ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको गुमेको साखलाई फर्काउनुपर्ने चुनौती पनि उत्तिकै छ । डा. शेखर कोइरालासँग राम्रो सम्बन्ध राखेर, देश, जनता र कांग्रेसको हितमा काम गर्नु भो भने राम्रो हुन्छ । पहिलो जस्तो भागबन्डा चाहियो भन्ने होइन् । कांग्रेसलाई एक ढिक्का बनाउन भागबन्डाको राजनीति गर्दिनँ भन्ने एउटा ढुक्कको टिम छ । पार्टीभित्र सहमति, सहकार्य र एकताको भावनालाई जागृत गर्दै लैजाने दायित्व भनेको सभापतिकै हो ।
अहिले कांग्रेसभित्र जुन प्रकारको उत्साह छ । त्यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ भन्ने सामान्य अनुमान गर्न पनि छ । त्यसमा पनि नेपालमा कम्युनिस्टहरूको फुटले पनि कांग्रेस लाभान्वित हुन्छ नै । यति हुँदाहुँदै पनि आगामी निर्वाचनमा अहिलेको भन्दा पनि अवस्था गिर्दो रहेमा उहाँ सभापति पदमा बसिरहन सुहाउँदैन । उहाँले तुरुन्तै राजीनामा दिएर अलग हुनुपर्ने दिन आउँछ । वा विशेष अधिवेशन गराउनुपर्दछ । यदि कांग्रेस पहिलो पार्टी बन्यो, दुई तिहाइको नतिजा ल्यायो भने आगामी पाँच वर्ष उहाँलाई नै प्रधानमन्त्री चलाउने अवसर पनि दिनुपर्छ ।
कांग्रेस पार्टीलाई क्लिन गरौं भन्ने अभियानको साथमा एउटा समूह निर्वाचनमा होमिएको थियो । सबै कुरा एकैपटक भइहाल्छ भन्ने पनि होइन । कांग्रेसले प्रविधिको प्रयोग गर्न सकेन । यो सही हो । महाधिवेशन गर्नै हम्मे भयो । पाँच पटक त मिति नै सार्नुप¥यो । छैटौं पटकमा बल्ल महाधिवेशन सम्पन्न भएको छ । जुन कुरा लज्जास्पद हो । अब निर्वाचनमा प्रविधिको प्रयोगबाट पछि हट्नु प्रविधिमैत्री छैन कांग्रेस भन्ने पुष्टि गर्छ ।
यो जमानामा पनि पुरानै शैलीबाट मतदान र गणना गर्नाले समयको खर्च हेर्नुस् त । २०१५ सालमा अन्तिम नतिजा सार्वजनिक गर्न दुई महिना लागेको थियो रे । कांग्रेसले पार्टीको आन्तरिक जीवन सुधार गर्न सकेको छैन । हात्ती जतिको पनि नलम्कने हो भने सबैभन्दा पछि पर्नुको अर्को बाटो छैन् । यो त कछुवाको चाल भो । कछुवाको तालले भोलिको राजनीति आफ्नो पोल्टामा पार्न सक्दैन । कुनै जेट विमानको रफ्तार समात्न नसके पनि घोडाको गति त समात्नै पर्छ । कछुवा गतिले प्रगति हात लाग्दैन । यहाँ अरू पार्टीहरू रकेटको स्पिडमा कुद्ने भइसके ।
अहिले कांग्रेसको निर्वाचनभित्र खुला प्रतिस्पर्धालाई अवलम्बन गरेको विषयबाहेक थुप्रै कमजोरीहरू छन् । दुई–तीन पटक त निर्वाचन समितिका संयोजक नै परिर्वतन भए । यो लाजमर्दो कुरा हो ।
पूर्ण समावेशी पार्टी भनिहाल्ने अवस्था छैन ।
खुला प्रतिस्पर्धाबाट एक जना पनि महिला नेतृत्वमा नआउनुले राजनीतिक दलमा ‘बाहेसनेस’ अझै छ भन्ने प्रमाणित पनि भएको छ । तर विभिन्न आरक्षण कोटाले केन्द्रीय समितिमा निर्वाचित हुने विधान भएकाले त्यसले केही हदसम्म समावेशी बनाउन सहयोग पुगेको पनि मान्न भने सकिन्छ । कांग्रेसले पहिलो पटक संविधानसंवत परिमार्जन गरेको विधानअनुसार नेतृत्व चयन गरेको छ । जुन, लोकतान्त्रिक पार्टीको लागि सुखद कुरा पनि हो ।
(कुराकानीमा आधारित)
प्रतिक्रिया