काठमाण्डौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजपनि दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने दिनको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा उपाधि दाबेदार मनाङ मर्स्याङदी र मच्छिन्द्र फुटबल क्लब प्रतिस्पर्धा गर्ने छन् ।
जारी सिजन हिमालयन शेर्पाले ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहँदा च्यासल भने समान ५ खेलबाट ४ अंकका साथ १३ औ स्थानमा रहेको छ । दुबै टीमको लक्ष्य एक अर्कालाई हराएर अंक तालिका सुधार गर्ने हुने छ । अझ च्यासललाई रेलिगेशन जोनबाट माथि उठ्ने चुनौती रहेको छ ।
त्यस्तै दिनको दोस्रो खेलमा तालिकाको शीर्ष दुई टोली मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुने छ । मनाङ र मछिन्द्रबीचको खेल ४ः४५ मा सुरु हुने छ । आठ पटकको च्याम्पियन मनाङ साविक विजेता मछिन्द्रलाई हराएर शीर्ष स्थानमा कायमै रहने लक्ष्यमा रहँदा मच्छिन्द्र भने मनाङलाई हराएर शिर्ष स्थानमा फर्किने लक्ष्यमा रहेको छ ।
जारी लिगमा मनाङ ५ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । मछिन्द्र ५ खेलमा ११ अंक जोडेर दोस्रो स्थानमा छ । जारी सिजनमा निकै तिब्र प्रतिस्पर्धा रहेको छ । रेलिगेशन जोनमा रहेने र शिर्ष स्थानमा पुग्ने क्लब बिचको प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ ।
प्रतिक्रिया