काठमाडौं- अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)ले नेपाल सरकारले आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।
एमसीसीले जारी गरेको विज्ञप्तिमा नेपालसँग गरिएको विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारको प्रतिबद्धतामा जनाइएको आर्थिक सहायताबारे बैठकमा समीक्षा गरिएको उल्लेख गरिएको छ।
एमसीसीको बोर्ड अफ डिरेक्टर्सको बैठकमा एमसीसी नेपाल कम्प्याक्टको अद्यावधिक अवस्था र हालसम्मको प्रगतिबारे छलफल भएको र नेपाल सरकारले कम्प्याक्टलाई अनुमोदन गर्ने प्रतिबद्धता जनाएको समेत उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘बोर्ड अफ डिरेक्टर्सले नेपाल सरकारले निकट भविष्यमा कम्प्याक्टलाई अनुमोदन गर्ने भनी जनाएको प्रतिबद्धतालाई नोट गराएको छ।’
एमसीसी सम्झौता संसदबाट पास नगर्न दबाब दिँदै नेपालमा विभिन्न राजनीतिक दल र समूहहरुले प्रदर्शन जारी राखेका बेला एमसीले नेपाल सरकारले अनुमोदन गर्ने प्रतिवद्धता जनाएको हो।
पछिल्लो समयमा अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्दै एमसीसी अनुमोदनका लागि नेताहरुलाई दबाब दिएका थिए।
प्रतिक्रिया