देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल र मनाङ विजयी

देशान्तर

काठमाडौं । च्यासल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो । च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले ४९ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै च्यासलले दुई खेलबाट ३ अंक जोडेको छ । च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ । च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको थियो । एपीएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ २ खेलमा अंकविहीन रहँदै पुच्छारमा छ । खेलको म्यान अफ दि म्याच रुमेश चुनिए ।

लिगको दोस्रो चरण अन्तर्गत शनिबार भएको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले जित निकालेको छ । मनाङले हिमालयन शेर्पा क्लबमाथि १–० गोलले पराजित गरेको हो ।

रोमाञ्चक खेलमा निरन्तर आक्रमण गरेको मनाङले शेर्पाको डिफेन्स ब्रेक गर्न ८३ मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । विपक्षी टोलीको आक्रमक शैलीलाई ८३ मिनेटसम्म रोकेको शेर्पाले मनाङका पुजन उपरकोटीको कर्नरमा फरवार्ड ओलावाले आफिजलाई रोक्न सकेन ।

८४औं मिनेटमा पुजनले दिएको क्रसलाई आफिजले हेडरमार्फत गोलमा परिणत गर्दैै मनाङलाई लगातार दोस्रो जित दिलाए । जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा जावलाखेललाई १–० ले पराजित गरेको मनाङको २ खेलबाट ६ अंक छ । पहिलो खेलमा च्यासल युथ क्लबले विभागीय टोली एपीएफलाई १–० गोलले पराजित गरेको थियो ।

आईतबार हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । दशरथ रंगशालमा हुने उक्त खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।