देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी–२० विश्वकप एसिया छनौटमा आज नेपाली महिला टीमले मलेसियासँग भिड्दै

देशान्तर

एजेन्सी । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गरिरहेको नेपालले आज आफ्नो चौंथो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा हङकङसँग पराजित बनेको नेपाल त्यसपछिका दुई खेलमा जित निकाल्दै ग्लोबल छनोटको संभावना कायम राख्न सफल भएको छ ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेल ११ः१५ मा हुने छ । ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसियामाथि जित निकाल्नै पर्ने दबाब छ। सन् २०१९ मा भएको दुई भेटमा नेपालले मलेसियालाई हराएको थियो ।

त्यसैले नेपाल आफ्नो विरासत कायम राख्दै मलेसियाविरुद्ध निश्चित जित चाहन्छ । मलेसिया भने नेपालसँग यस अघि व्यहोरेको हारको बदला लिन चाहन्छ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । यस्तै नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ । मलेसियाले भने तीन खेलमा मात्र एक जित निकालेको छ ।

नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मलेसिया २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । प्रतियोगिताको पाँचौ खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्ने छ । युएई अहिलेसम्म अपराजित रहेको छ ।

छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।