काठमाडौं- २० अर्ब रुपैयाँ रिपो उठाएकै दिन बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) र ओभरनाइट रिपोसमेत चलाएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार २४ पटक ५० अर्ब ९१ करोड ३५ लाख रुपैयाँ एसएलएफ चलाएका छन् । अनिवार्य तरलता अनुपात (सीआरआर) समेत कायम गर्ने पैसा नभएपछि आधा खर्ब बढि एसएलएफ चलाएका हुन् ।
एसएलएफको ब्याज ५ प्रतिशत हुन्छ । यो सात दिनका लागि लिन पाइन्छ । त्यसपछि राष्ट्र बैंकलाई फिर्ता गर्नु पर्छ । बैंक तथा वित्तीय संस्थाले बिहीबारसमेत गरेर चालु आर्थिक बर्ष १८ खर्ब १० अर्ब ८४ करोड २० लाख रुपैयाँ एसएलएफ चलाएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले एसएलएफ बाहेक ओभरनाइट रिपोसमेत चलाएका छन् । यसको ब्याज साढे तीन प्रतिशत हुन्छ । उनीहरुले २ अर्ब ४३ करोड ९५ लाख रुपैयाँ ओभरनाइट रिपो चलाएका हुन् ।
बैंक तथा वित्तीय संस्थासँग बिहीबारसम्म राष्ट्र बैंकको भुक्तानी गर्नु पर्ने दायित्व एक खर्ब ५० अर्ब २२ करोड ३० लाख रुपैयाँ पुगेको छ। यो पैसा भुक्तानी गर्ने हो भने बैंकहरुसँग दैनिक चल्ने तरलतासमेत हुँदैन ।
प्रतिक्रिया