काठमाडौं-विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी)मा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन् ।
आइसिपीले श्रमिक तथा मजदुरहरुलाई श्रम ऐन अनुसार सेवा सुविधा नदिइएको भन्दै समाजबादी कारखाना श्रमिक संघले मंसिर १२ गतेदेखी भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो । संघका ईकाई अध्यक्ष शम्भुकुमार यादवले मजदुरहरूको जायज माग पूरा नगरे मंसिर १२ गतेदेखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिए । उनले संघकै अगुवाईमा २०७७ माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ को उपदफाहरु अनुसारका मागहरू राखिएको भएपनि मागको सम्बोधन नभएको बताए ।
समाजबादी ट्रेड युनियनका प्रदेश सचिव विकास मण्डलले हाल कार्यरत सम्पूणर् कामदर तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बीमा गर्नुपर्ने माग राखे ।
युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले आइसिपीका खटिने मजदुरहरुलाई ठेकेदारी प्रथाबाट खटाएर शोषण गर्ने गरिएकाले ठेकेदार प्रथाको अन्त्य गर्नुपर्ने बताए । उनले श्रम स्विकृति नलिई आइसिपीमा बिदेशी कामदारहरुलाई लगाइएको समेत बताए । उनले भने ,‘आइसिपीमा कामगर्न ट्रान्स नेपाल नामक कम्पनीले दिने गरेको छ ,श्रमिकहरुले श्रम ऐन अनुसार सेवा र सुविधाको तागेदा गर्दा पछिल्लो समय ट्रान्स नेपाल आफ्नो कामदार नभएको भन्दै पन्छिन खोजिएको छ ।’
आइसिपीमा नेपाल र भारतका गरी करिव ३ सय श्रमिकहरु कार्यरत छन । श्रमिकको मागका बारेमा सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा पनि ध्यान नदिएको कारण हड्तालमा जानुपर्ने बाध्यता सृजना भएको संघले जनाएको छ ।
प्रतिक्रिया