काठमाडौँ – विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ करोड नाघेको छ ।
समाचार संस्था रोयटर्सको तथ्यांकअनुसार सोमबार विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघेको हो । पछिल्लो समय विश्वका केही देशमा संक्रमण दर घटे पनि डेल्टा भेरियन्टका कारण पूर्वी युरोपमा भने संक्रमण बढिरहेको छ ।
रोयटर्सको तथ्यांक विश्लेषणअनुसार पछिल्ला ३ महिनामा दैनिक संक्रमण ३६ प्रतिशतले घटेको छ । विश्व स्वास्थ्य संगठनकी संक्रामक रोग विशेषज्ञ मारिया भान केरखोबेले सन २०२२ को अन्त्यसम्ममा कोरोना नियन्त्रण हुन सक्ने सम्भावना रहेको बताएकी छिन् ।
२४० मध्ये ५५ देशमा अहिले पनि कोरोना संक्रमण बढिरहेको छ । पछिल्लो समय रुस, युक्रेन, ग्रीसलगायतका देशमा संक्रमण बढिरहेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार सबैभन्दा बढी अमेरिकामा ४ करोड ६४ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा ७ लाख ५४ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख ४९ हजार नाघेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप अभियानलाई पनि तीव्रता दिएका छन् । अहिलेसम्म विश्वभर ७ अर्ब २४ करोड डोजभन्दा बढी खोप लगाइसकिएको छ ।
प्रतिक्रिया