देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१ अर्ब २१ करोड रुपैयाँले घट्यो फूलमालाको कारोबार

देशान्तर

काठमाडौं–कोरोना महामारीपछि फूलमालाको कारोबार १ अर्ब २१ करोड रुपैयाँले घटेको छ ।

महामारीका कारण फूलमालाको अत्यधिक खपत हुने होटेल, रेष्टुरा साथै बिबाह, भोजभतेर, अनुष्ठानलगायतका कार्यक्रमसमेत नराम्ररी प्रभावित हुँदा फूलमालाको वार्षिक कारोबारमा कमि आएको हो ।

नेपाल पुष्प व्यवसायी महासंघका अनुसार कोरोना महामारी अघि आव २०७५ र ७६ मा नेपालमा फूलमालाको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ बराबर रहेको थियो । आव २०७७ र ७८ सम्म आइपुग्दा यो कारोबार १ अर्ब २१ करोड रुपैयाँले घटेर १ अर्ब ६३ करोडमा रुपैयाँमा झरेको छ ।

महासंघका अनुसार महामारीका समयमा पुष्प व्यवसायसँग सम्बन्धित सम्पूर्ण व्यवसायहरु ठप्प हुँदा ठूलो रकममा कारोबार घटेका पाइएको छ । सामान्य अवस्थामा प्रत्येक वर्ष नेपालमा फूलमालाको माग १० देखि १५ प्रतिशत बढीरहेको हुन्थ्यो ।
त्यसैले उत्पादन पनि बढाउँदै लगिएको थियो । यद्यपि पछिल्लो समयमा कोरोना महामारीले गर्दा बजार नराम्ररी प्रभावित भएपछि त्यसको प्रत्यक्ष असर वार्षिक कारोबारमा परेको हो ।

अघिल्ला वर्षहरुमा तिहारको समयमा मात्र सयपत्री, मखमली र गोदावरीको करीब २२ लाखभन्दा धेरै माला खपत हुने गरेको भएपनि महामारी पश्चात यो तिहार लक्षित कारोबार पनि घटेको छ । गत वर्ष १३ करोड रुपैयाँ बराबरको १८ लाख माला मात्र खपत भएको थियो । यसवर्षको तिहारमा पनि साढे १८ लाख माला मात्र खपत हुने अनुमान छ ।

खपत हुने कुल साढे १८ लाख मालामध्ये सयपत्री फूलका १३ लाख माला, गोदावरी र मखमली फूलका ३ लाख मालागरी १६ लाख माला नेपाली किसानको आफ्नै उत्पादन हुनेछ भने २ लाख ५० हजार माला बजारमा अपुग देखिएकाले अपुग माला आयात गर्नुपर्ने छ ।

नेपालमा वार्षिक रुपमा खपत हुने फूलमालाको करीब ९१ प्रतिशत बजार माग आन्तिरक उत्पादनले धान्ने गरेको छ भने करीब २४ करोड २० लाख रुपैयाँको फूलमाला हरेकवर्ष अपुग हुने भएकाले उक्त परिमाणमा फूलमाला भारत लगायतका मुलुकबाट आयात गर्ने गरिन्छ । यद्यपि गत वर्ष महामारीका कारण व्यवसायीहरु थप लगानी गर्न डराएपछि उत्पादन घट्न गई आयात केही बढेको छ ।

नेपालमा फूलमालाको कुल कारोबारको ६० प्रतिशत खपत काठमाडौं उपत्यकामा हुनेगर्दछ भने बाँकी ४० प्रतिशत उपत्यका बाहिर हुने गर्दछ । उपत्यका भित्रका मानिसहरुमा सबै कार्यक्रममा फूलको प्रयोग गर्ने बानिको विकास भएकाले काठमाडौंमा बढी खपत भएको महासंघले जनाएको छ ।

महासंघको तथ्याङ्क अनुसार देशभरीमा ६ अर्ब रुपैयाँ बराबरको लगानी रहेको पुष्प व्यवसाय हाल ४४ ओटा जिल्लामा फैलिएको छ । जसबाट ७०० जनाभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमागरि ४३ हजार मान्छेले रोजगारी पाएका भएपनि हाल महामारीका कारण ३ हजार मानिसले रोजगारी गुमाएका छन् ।

गत वर्षको कोरोना महामारीको समयमा सरकारले पुष्प व्यवसायलाई अत्यावश्यक क्षेत्रमा वर्गिकरण नगरेपछि व्यवसायीहरु आफ्नो वासस्थानदेखि नर्सरीसम्म जान नसक्दा अधिकांस बोटविरुवाहरु मरेपछि ठूलो क्षति भएको थियो ।