देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खेलकुद मन्त्रीले पूर्व मन्त्रीहरूसँग परामर्श गरेः राम्रो कामको सुरुवात भएको टिप्पणी

देशान्तर

काठमाडौं–युवा तथा खेलकुदमन्त्री महेश्वरजंगगहतराज (अथक)ले पूर्व मन्त्रीहरूसँग परार्मश गरेका छन् ।

बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पूर्व मन्त्री तथा राज्यमन्त्री र सहायक मन्त्रीहरूलाई सुझावका लागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा ‘राय परामर्श कार्यक्रम’ आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा सहभागि पूर्व मन्त्रीहरूले मन्त्रालयबाट राम्रो संस्कारको सुरुवात भएको धारणा राखेका थिए ।

युवा तथा खेलकुद पूर्व सहायक मन्त्री चन्द्रा चौधरीले मन्त्रालयले युवा लक्षित कार्यक्रमहरूमा विशेष जोड दिनुपर्ने सुझाव दिइन् । राज्यका अन्य निकायले समेत युवालक्षित कार्यक्रम गर्दै आएको भए पनि ती सबै कार्यक्रमहरूलाई मन्त्रालयकै मातहतमा ल्याउन उनले सुझाव दिइन् ।

त्यसैगरी खेलाडी तथा खेल क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले अत्याधिक मात्रामा बजेटको ब्यवस्था गर्नुपर्ने र खेलाडीहरूको जीवनस्तर उकास्ने खालका गतिविधिमा जोड दिनुपर्ने चौधरीको भनाई थियो ।

पूर्व राज्य मन्त्री गोपी अछामीले पहिलो पटक पूर्व मन्त्रीहरूसँग सुझाव संकलन कार्यक्रम आयोजना गरेर मन्त्रालयले राम्रो सुरुवात गरेको बताए । जनशक्ति, पूर्वाधार र बजेटको स्थिति हेर्दा खेलकुद मन्त्रालय सधैं उत्पीडनमा परेको आभाष हुने बताउँदै अछामीले मन्त्रालयलाई आर्थिक रूपमा सवल बनाउनु पर्नेमा जोड दिए । साथै खेलकुद क्षेत्रमा सक्रिय बिचौलीयाहरूलाई निरुत्साहित गर्दै लक्षित वर्गलाई समेट्ने खालका प्रभावकारी गतिविधिहरूलाई ब्यापकता दिनुपर्ने बताउँदै अछामीले खेलाडीहरूलाई नियमित रूपमा अभ्यास तथा तालिमको ब्यवस्था मिलाउन सुझाव पनि दिए ।

उनले केन्द्र, प्रदेश र स्थानीयस्तरमा आयोजना गरिने खेलकुद प्रतियोगिताहरू खेल संरचाना निर्माणमा सहयोग पुग्ने भएकाले त्यस प्रकारका गतिविधिहरूलाई निरन्तरता दिनुपर्नेमा जोड पनि दिए ।

छलफल कार्यक्रममा पूर्व मन्त्री जगत बहादुर विश्वकर्माले धेरै लामो प्रयासपछि निर्माण भएको “खेलकुद विकास ऐन २०७७”कार्यान्वयन प्रक्रियामा लैजान आग्रह गरे । बाहिरी रूपमा ऐनप्रति विभिन्न खालका टिकाटिप्पणी हुने गरेको भए पनि वर्तमान खेलकुद क्षेत्रको अवस्थालाई व्यवस्थापन गर्ने सामर्थ खेलकुद विकास ऐनले राख्ने कुरामा आफू ढुक्क रहेको विश्वकर्माले बताए ।

अघिल्लो सरकारले राम्रा खालका योजनाहरू अगाडि बढाएको जिकिर गर्दै विश्वकर्माले विगतमा शुरु भएका खेल पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न गर्ने दायित्व मन्त्रालयको काँधमा रहेको बताए । उनले ७ वटै प्रदेशमा निर्माण गर्ने भनिएका अत्याधुनिक खालका प्रादेशिक रंगशाला निर्माण कार्यलाई पूर्णता दिन सके स्थानीय स्तरबाट ठूलो मात्रामा खेलाडीहरू उत्पादन हुनुका साथै खेल पर्यटनमा समेत टेवा पु¥याउने धारणा राखेका थिए ।

खेल पर्यटनका हिसावले नेपाल संसारकै उत्कृष्ट देश भएको उल्लेख गर्दै विश्वकर्माले भने ‘नेपाल मात्र एक यस्तो देश हो, जहाँ संसारमा खेलिने सबै प्रकारका खेलहरू खेल्न सक्ने खालको भौगोलिक बनावट छ ।” खेलकुद मन्त्रालयअन्तर्गत रहेको युवा स्वरोजगार कोष विचौलीयाहरूको कमाई खाने भाँडो बनेको प्रति दुःख ब्यक्त गर्दैै पूर्व मन्त्री विश्वकर्माले युवा स्वरोजगारको पैसा लक्षित वर्गसम्म पु¥याउन नयाँ खालको नीति बनाउनुपर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले सबै पक्षको सुझावका आधारमा नयाँ योजनाहरू तर्जुमा गरिने प्रतिवद्धता जनाए ।

विगतमा भएका राम्रा कामको निरन्तरता र प्रभावकारी नयाँ कार्यको थालनिका लागि आफू निरन्तर छलफलमै रहेको बताउँदै मन्त्री अथकले मन्त्रालयको स्तर उठाउने कार्यमा आफू दिनरात लागि परेको बताए । छलफलबाट महत्वपूर्ण सुझाव संकलन भएको उल्लेख गर्दै मन्त्री अथकले भने, ‘तपाईहरूबाट प्राप्त महत्वपूर्ण सुझाव, सल्लाहलाई मैले मार्गनिर्देशका रूपमा ग्रहण गर्नेछु ।’ कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव कमलप्रसाद पोखरेलले मन्त्रालयको जिम्मेवारी र हालसम्म भए गरेका गतिविधिहरूका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा मन्त्री अथकले पूर्व मन्त्रीहरूलाई खादा ओढाएर सम्मानसमेत गरेका थिए ।