देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनको तयारी

देशान्तर

काठमाडौं – काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले निर्माण सम्पन्न सुक्खा बन्दरगाह सञ्चालनको तयारी भएको बताए। गजुरेलले बन्दरगाह सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टिन, बैंक, सुरक्षानिकाय लगायतका सम्बन्धित निकायसँग छलफल भइरहेको भन्दै उनले चाँडै पूरा तयारीका साथ सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए।

सुक्खा बन्दरगाह सुरु भएसँगै व्यवसायीले सीधै काठमाडौंमा सामान ल्याउन सक्ने र छिट्टै उपभोक्तामाझ पुर्‍याउन सकिने तथा आयात, निर्यातको मूल्य घटाउन सकिने उनले उल्लेख गरे।

गजुरेलले भने‚ ‘अहिले हामी सञ्चालनको तयारी अवस्थामा छौँ। यसका लागि सम्बन्धित निकाय भन्सार कार्यालय, क्वारेन्टिन, बैंक, सेक्युरिटी, पोर्ट सञ्चालनका लागि सञ्चालक सबैजनाको सहकार्यमा छलफल भइरहेको छ र चाँडै सञ्चालनमा ल्याउने हिसाबले काम अघि बढाइरहेका छौँ।’

काठमाडौंको चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुक्खा बन्दरगाह बनेको हो।

यसभित्र २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टिन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा ठूला गोदाम, चेकजाँच गर्ने ३ वटा खुला भवन, ५०० वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भइसकेको गजुरेलले जानकारी दिए। सिसिटिभी जडान र दमकल समेत जडान गरिसकेको उनले बताए।

भारत र चीनसँग सीमा जोडिएका जिल्लामा मात्रै सुक्खा बन्दरगाह भए पनि भित्री जिल्लामा निर्मित यो पहिलो सुक्खा बन्दरगाह हो। वीरगञ्ज, विराटनगर, भैरहवा, काँकडभिट्टा, तातोपानीमा सुक्खा बन्दरगाह सञ्चालनमा छन् भने रसुवा र नेपालगञ्जमा निर्माणाधीन छन्।