देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिलवाल गलहत्याए, अरूको पालो कहिले ?

देशान्तर

काठमाडौं । केपी ओली प्रधानमन्त्री भएका बेला नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपमा शैक्षिक माफिया रमेशकुमार सिलवालको बोलवाला थियो । नयाँ खेलकुद ऐन आएपछि पदमुक्त भएका सिलवाल फेरि पनि ओलीलाई रिझाएर राखेपको सदस्यसचिव भएर आएका थिए ।

पहिलो कार्यकालमा १३औं दक्षिण एसियाली खेलकुद सागको सफलतापूर्वक सम्पन्न गराएको जश लिँदै आएका सिलवालको दोस्रो कार्यकाल भने राम्रो रहेन । राजनीतिक परिवर्तनसँगै उनले सरकारलाई असहयोग गरेकै कारण नेपाली टिम साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्स पुगेकै बेला सिलवाल राखेपबाट गलहत्याइएका छन् ।

ओली हुँदासम्म खेलकुदका कुराहरू हुँदा सबै जश आफैंले लिन पछि नपर्ने सिलवालकै जोडबलमा खेलाडीहरूलाई पार्टीको मार्चपासमा सहभागी गराइयो भने प्रधानमन्त्रीले खेलाडीलाई सम्बोधन गर्ने भन्दै प्रज्ञा भवनमा पनि जबर्जस्ती उपस्थित गराइएको थियो । त्यहाँ केही खेलाडीहरूले प्रश्न राख्दा राम्रोसँग जवाफ पनि दिन दिइएको थिएन ।

यसैगरी ओलीले मूलपानी क्रिकेट मैदानबारे अझैंसम्म नबनेको विषयमा अनविज्ञता प्रकट गर्दा पनि सिलवालले केही नबताउँदा खेलाडीहरू निरास हुँदै गएका थिए । अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग अत्यन्त नजिक रहेका सिलवाल हरेकजसो नेपाली टिमको भ्रमणमा विदेश सयरमा व्यस्त थिए । कोरोनाका बेला खेलाडीहरूले दुःख पाउँदा चुइँक्क नबोल्ने सिलवालको बहिर्गमगनपछि खेलकर्मीले पनि अलि राहतको श्वास फेरेका छन् । अहिले खेलकुद मन्त्रालयमा नयाँ नेतृत्व पनि आएको छ । माओवादीका महेश्वरजंग गहतराज मन्त्री भएर आएपछि उनको पहिलो काम भनेकै राखेपमा सदस्यसचिव नियुक्त गर्नु नै रहेको छ ।

विगतमा सदस्यसचिव राजनीतिक नियुक्ति हुँदै आएकोमा नयाँ खेलकुद ऐनअनुसार अब प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्ले नियुक्त गर्नु पर्नेछ । त्यसैले प्रक्रिया पूरा गर्न अझैं केही समय त लाग्नेछ । हालै मात्र सीमित सञ्चारकर्मीसँग युवा तथा खेलकुद मन्त्रालयमा उपस्थित भएका मन्त्री गहतराजले राखेपका अन्य सदस्यहरूले पनि राजीनामा दिनुपर्नेमा जोड दिएका छन् । राखेपको बोर्ड सदस्यहरू विगतमा फरक राजनीतिक प्रकृतिबाट नियुक्त भएको र अहिले अवस्था फेरिएकाले उनीहरूले राजीनामा दिनुपर्ने र आफू राजीनामा कुरेर बसिरहेको अभिव्यक्ति दिएपछि नेपाली खेलकुद फेरि एकपटक तरंगित भएको छ ।

सिलवाल सदस्यसचिव हुँदा तत्कालीन माओवादी केन्द्र नेकपामै रहेको थियो । त्यसैले त्यतिबेला माओवादी कोटाबाट पनि बोर्ड सदस्य नियुक्त भएका थिए । विगतमा वाईसीएलको नेतृत्व गरेका शिव कोइराला ‘ज्वाला’ अहिले गहतराज मन्त्री भएर आएपछि उनको सक्रियता पनि बढेको छ । राखेपको उपाध्यक्ष रहेका कोइराला अहिले हरेकजसो मन्त्री सहभागी हुने कार्यक्रममा सहभागी हुँदै आएका छन् भने राखेपमा आयोजित स्वागत कार्यक्रममा पनि उनी नै सर्वेसर्वा रहेका थिए ।