देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई देउवाको निर्देशन

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन सम्पन्‍न गर्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शीर्ष नेता र निर्वाचन समितिको बैठकमा देउवाले उक्त निर्देशन दिएका हुन् ।

बैठकमा निर्वाचन कार्यतालिकाबारेमा छलफल भएको छ । मंसिरभित्र महाधिवेशन सम्पन्न हुने गरी निर्वाचिनको कार्यतालिका बनाउन निर्वाचन समितिलाई सभापतिले निर्देशन दिए । बाँकी विषयमा तत्कालै केन्द्रीय समिति बसेर टुंग्याउने निर्णय भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महत र निर्वाचन समितिमा रहेका नेताहरुको उपस्थिति थियो । कांग्रेसले ५१ जिल्लामा स्थानीय तहको अधिवेशन गरिसकेको छ भने १३ जिल्लामा जिल्ला तहसम्मकै अधिवेशन सकिएको छ । तर, बाँकी १३ मध्ये रौतहट र रसुवाको भने क्रियाशील सदस्यता नै टुंगिएको छैन । ती जिल्लामा भने छठपछि मात्रै अधिवेशन सुरु गर्ने बैठकले निर्णय गरेको नेता महतले जानकारी दिए ।

निर्वाचन समितिले सोमबारै अधिवेशन हुन बाँकी रहेका हिमाली जिल्लामा तिहारअघि अधिवेशन गरिसक्ने निर्णय गरिसकेको छ ।