देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रक्षामन्त्री डा. रिजाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

देशान्तर

काठमाडौं – रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । मन्त्री रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीका अनुसार मंगलबार बिहान मन्त्री डा. रिजाललाई भेट्न राजदूत बेरीबीच रक्षा मन्त्रालय पुगेका थिए ।

सो अवसरमा दुई देशबीच आपसी हितलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको बताइएको छ । ‘शिष्टचार भेटवार्ता हो, आपसी हित प्रवर्द्धनमा छलफल भएको हो’, ठकुरीले भने । बिहान साढे ११ बजेदेखि सुरु भएको भेटवार्ता मध्याह्न सवा १२ बजेसम्म चलेको थियो । नेपालमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन गराउने विषयमा दलहरूबीच फरक मत छ । सत्ता गठबन्धनभित्र पनि परियोजना सम्बन्धमा दलहरूबीच साझा धारणा बन्न सकेको छैन ।

केही दिनअघि सुदूरपश्चिम प्रदेश पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना बिना संशोधन पारित हुने बताएका थिए । तर, गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले कतिपय बुँदाहरूमा परिमार्जन गर्नुपर्ने आवाज उठाइरहेका छन् । मन्त्री रिजालसँग राजदूत बेरीको भेटलाई पनि परियोजनाको पक्षबाट महत्त्वका साथ हेरिएको छ । तर, सचिव ठकुरीले भने परियोजनाको विषयमा कुनै पनि छलफल नभएको बताए ।