देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्लाहीको नवलपुरमा बन्यो नयाँ सबस्टेसन

देशान्तर

काठमाडौं – सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका(१ नवलपुरमा १३२र३३ केभीको सबस्टेसन निर्माण गरेको छ ।

सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारबाट सञ्चालनमा ल्याइएको छ । सबस्टेसन शनिबार चार्ज गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने बताए ।

‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो । ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो’, कार्यकारी निर्देशक घिसिङले भने ।

उनले भने, ‘अब नवलपुर सबस्टेसनबाट सिधै विद्युत आपूर्ति हुने भएकाले लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्ने छ, सर्लाहीमा खुल्ने उद्योगहरुलाई पर्याप्त विद्युत दिन सकिने छ ।’

पूर्व(पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत आपूर्ति गरिने छ । सबस्टेसनमा १३२र३३ केभी, ६३ एमभिए र ३३र११ केभी, १६ एमभिए क्षमताका दुईवटा ट्रान्सर्फमर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३र११ केभी वितरण सबस्टेसनहरुमा विद्युत आपूर्ति हुने छ ।

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४र७५ र मुख्य निर्माण आव २०७५र७६मा सुरु गरिएको थियो । कोभिड-१९को महामारी कारण उपकरणहरु ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरञ्जन साहले बताए । सबस्टेसनको निर्माणको ठेक्का पावर टेक भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो ।