यस वर्षको दसैं बिदा भो । कोरानाकालको दोस्रो दसैं गत वर्षको दसैंको तुलनामा मानिसले उल्लासपूर्वक नै मनाए ।
दसैंलगत्तै नेपालले नराम्रोसँग प्राकृतिक विपत्ति व्यहोर्नु पर्यो । पृथ्वीमा विश्वव्यापी रूपमा तापमान बढेको कारण मौसममा आएको गडबडीले देशव्यापी रूपमा परेको भारी वर्षाले सयभन्दा बढी नेपालीले अकालमा ज्यान गुमाउनु पर्यो भने बाली भित्र्याउने बेला भएको नेपाली किसानले हाम्रो प्रमुख अन्नबाली धानको ठूलो क्षति व्यहोर्नु पर्यो । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीको नेतृत्वमा गठन भएको गठबन्धन दलको सरकारले सय दिन पूरा गरेको छ ।
यो सय दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने र सामान्य सरकार सञ्चालनको कामबाहेक सरकारले जनतामा प्रभाव पार्ने गरी उल्लेख्य काम गर्न सकेन । सरकारले केही गर्दैछ भनेर आम जनतामा आशा र भरोसा जगाउन पनि सकेन ।
बडा दसैंको अवसरमा प्रधानमन्त्री, राजनीतिक दलका ठूला नेतादेखि साना टोलका नेतासम्मका शुभकामना सन्देशले मेडिया र सामाजिक सञ्जाल छाएको थियो ।
नेपाली कांगे्रसको महाधिवेशनको नजिक दसैंं पर्व परेको कारणले पनि मोबाइलको एसएमएस बक्स शुभकामना सन्देशले भरिए । तर यस पटकको दसैं शुभकामना सन्देशको विशेष चर्चा भने पूर्वमहाराधिराज ज्ञानेन्द्र शाहको शुभकामना सन्देशले पायो । देशको राजनीतिक परिस्थितिलगायतको विषयमा चिन्ता प्रकट गर्दै आएको यस किसिमको पहिलो शुभकामना सन्देश भएको कारणले राजनीतिक वृत्तमा विशेष चर्चा हुनु स्वाभाविक छ । दसैंको कौडाको खाल, म्यारिज खाल, पारिवारिक जमघटदेखि टीका लगाउने कार्यक्रम सबैतिर राजाको दसैं सन्देशकै चर्चा थियो । निश्चयः नै पूर्व राजाले दसैं शुभकामनाको मौका छोपेर विगतको तुलनामा निकै स्पष्टसँग अर्थपूर्ण राजनीतिक सन्देश दिने गरी शुभकामना दिएका छन् ।
पटकपटक अवसर पाएर पनि देशको सफल नेतृत्व गर्न चुक्दै आएका नैतिक शक्ति ह्रास भएका राजनीतिक दलका नेताहरूले पूर्वराजा ज्ञानेन्द्रको सन्देशको अहिलेसम्म औपचारिक रूपमा आलोचना वा विरोध गर्ने आँट गरेका छैनन् । नेपाली राजनीतिका अस्थिर एवम् विवादास्पद पात्र, सङ्किर्ण राजनीतिक विचार अभिव्यक्ति गर्दै आएका डा. बाबुराम भट्टराईले समाजिक सञ्जालमार्फत तुष्टि पोख्नबवाहेक ज्ञानेन्द्रको अभिव्यक्तिमाथि वस्तुनिष्ट आलोचना गर्न सकेको देखिएन ।
पूर्वराजा शाहले वर्षमा चार पटक वैशाख १ गते, बडादसैं, पुस २७ गते पृथ्वी जयन्ती र फागुन ७ प्रजातन्त्र दिवसका अवसरमा देश विदेशमा रहेका नेपालीका नाममा शुभकामना सन्देश दिँदै आएका छन् । राजाको हैसियतमा शुभकामना सन्देश दिने परम्परालाई उनले पूर्वराजाका हैसियतमा पनि निर्वाह गर्दै आएका छन् । तर विगतको तुलनामा यस पटकको सन्देश राजनीतिक दृष्टिले निकै नै चोटिलो र अर्थपूर्ण पनि देखिन्छ । सन्देशलाई नियालेर हेर्दा पूर्व राजा शाहले केवल परम्परागत धर्म निर्वाह गर्नका लागि मात्र यो सन्देश दिएको देखिँदैन ।
सन्देशको उठाइएको विषयवस्तु, शब्द र भावलाई नियालेर हेर्दा विशेष राजनीतिक योजनाका साथ यस पटकको सन्देश आएको अनुमान गर्न गाह्रो पर्दैन ।
डा. बाबुरामका राजनीतिक गुरु मोहन वैद्य ‘किरण’ र अर्का भेटरान वामपन्थी नेता नारायणमान बिजुक्छे आदि दिग्गज कम्युनिस्ट नेताहरूले अन्य राजनीतिक लाभहानि नहेरी, कुनै रणनीतिक दृष्टिकोणबाट नभै देशको गम्भीर राजनीतिक अवस्थाबाट चिन्तित बन्दै राजा कम्बोडियाको राजा नरोद्दम सिंहानुकजस्तो भएर बस्न राजी हुन्छन् भने राजसंस्थाको विषयमा पुनर्विचार गर्न सकिन्छ भनिरहेको अवस्थामा हिजोका मोहन वैद्यका कार्यकर्ता बाबुराम भट्टराईले पूर्वराजाको सन्देशप्रति ओठे टिप्पणी गर्दै– ‘राजसंस्थाबिनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेती गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो ।
पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारी बोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर वस्नु वेश हुनेछ !’ भन्दै उपदेश दिएप्रति राजनीतिक वृत्त र सामाजिक सञ्जालहरूमा सकारात्मकभन्दा ज्यादा नकारात्मक प्रतिक्रिया आउनु वर्तमान नेतृत्व र राजनीतिक व्यवस्थाप्रतिकै चरम निराशाको रूपमा बुझ्न सकिन्छ ।
पाका कम्युनिस्ट नेताहरूको नेपाली राजनीतिमा सिंहानुकको खोजी र पूर्वराजाको आम प्रजातन्त्रिक, प्रगतिशील वा अन्य जुनसुकै विचारप्रति आस्थावान् भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास गर्दै दसैंका अवसरमा आएको सन्देश संयोग हुन सक्छ तर देशप्रतिको चिन्तामा समानता भेट्न सकिन्छ ।
निश्चयः नै राजा त्रिभुवन २००७ सालको शाही घोषणा मुताविक प्रजातान्त्रिक तवरले आफ्नो भूमिकालाई अगाडि बढाएनन् । त्रिभुवनकै छोरा राजा महेन्द्रको राष्ट्रवादी छवि हुँदाहुँदै पनि पुस १ को प्रजातन्त्र विरोधी अपराधको कदमलाई नेपाली इतिहासले निश्चय नै माफी गरेको छैन र गर्दैन पनि । २०५६ संसदीय निर्वाचनबाट गठन भएको संसद्लाई विघटनको सिफारिस त राजनीतिक दलले नै गरेका हुन्, संविधानको धारा १२७ को पहिलो प्रयोग गरेर राजा ज्ञानेन्द्रलाई बाटो देखाउने काम पनि राजनीतिक दलबाट नै भएको हो तथापि यसो भनेर राजा ज्ञानेन्द्रको माघ १९ को कदमलाई जायज मान्न सकिन्न तथापि राजसंस्थाको अन्तिम उत्तराधिकारीका रूपमा पूर्व राजाले इतिहास र अनुभवबाट पाठ सिक्दै राजसंस्थाबाट विगतमा भएका त्रुटि कमजोरीलाई पनि अन्तर्यबाट स्वीकार गर्दै पहिलो पटक प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै ‘हाम्रो जस्तो देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन’ भन्ने मार्मिक विचार ढिलै भए पनि आएको छ, यो स्वागतयोग्य कुरा हो ।
मानिसले हन्डर र कष्ट खेपे पछि नै सिक्छ । राजनेता बीपी कोइरालाले १ पुस २०१७ को कदमपछि ८ वर्षको कठोर कारावास र अर्को ८ वर्ष कष्टकर भारत स्वनिर्वासनपछि नै राजा र प्रजातन्त्रवादी शक्ति नमिल्ने हो भने देश अस्तित्व संकट पर्न सक्छ भन्दै राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । भलै त्यसबेला बीपीको त्यो प्रस्तावलाई तत्कालीन राजाले पर्वाह गरेन । (पछि गएर देशबाट राजसंस्थाको अन्त्य हुनुको एउटा प्रमुख कारण नै बीपीको त्यो मेलमिलापको प्रस्तावलाई ठुकुराउनु थियो) सायद पूर्वराजा ज्ञानेन्द्र शाहले पनि कष्ट र हण्डर खेपेपछि नयाँ कुराको बोघ गरेको अनुभूति हुन्छ । विगतका शाही सन्देशभन्दा निकै अगाडि बढेर राजाले प्रजातन्त्रप्रतिको आफ्नो प्रतिबद्धता प्रकट गरेका छन् । त्यसैले त उनले सन्देशमा भनेका छन्– ‘प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो देशमा सान्दर्भिक हुन सक्तैन भन्ने आबोध हामीले गरेका छौं ।’ यस प्रकारको अभिव्यक्ति विगतमा आएको थिएन । बीपीको राष्ट्रिय एकता मेलमिलापको नीतिकै मर्मबमोजिम नै यो विचार पूर्वराजाबाट आएको मान्न सकिन्छ ।
बीपी कोइरालाको अगुवाइमा स्थापना भएको देशको सबैभन्दा पुरानो महान् प्रजातन्त्रवादी एवम् राष्ट्रवादी राजनीतिक दल इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको छ । आफ्ना स्थापनाकालीन सिद्धान्त र नीति एवं बीपी कोइरालाका विचारलाई छोडर सत्ताका लागि वामपन्थी भाषामा फस्न पुगेको कारण कांग्रेसको यो हविगत छ भनेर भन्यौं भने अन्यथा हुँदैन । नेपाली कांग्रेस आफ्नो १४ महाधिवेशनको सम्मुख । पाटी नेताको रबैयाको कारण कांग्रेसलाई महाधिवेशन सम्पन्न गर्नका लागि पनि सकस भइरहेको छ । वर्तमान कांग्रेसको सिद्धान्त, नीति र नेतृत्व तीनै चिज खराब छ । यसको परिवर्तन नभएसम्म नेपाली कांग्रेस सुध्रिने छैन भन्नेमा ढुक्क भए हुन्छ ।
आफैंले तीन तहको निर्वाचन गर्दासमेत कांग्रेसलाई जनताले यसरी निर्मत तरिकाले दण्डित किन गरे ? त्यसको पार्टीमा कुनै समीक्षा पनि छैन । जनता कांग्रेससँग किन नाराज भए त्यसको खोजिनीति नै छैन । आसन्न महाधिवेशनका लागि झन्डै आधा दर्जन सभापति पदको प्रत्यासी देखिएका छन् तर एकले अर्कोलाई आलोचना गरेर आफ्नौ औचित्य पुष्टि गर्ने प्रयास बाहेक कसैसँग कांग्रेसलाई कसरी उतार्ने कुनै नवीन सोच र चिन्तन छैन ।
देशको राजनीतिमाथि विदेशी शक्तिको डरलाग्दो खेल, आन्तरिक राजनीतिक पात्रको सत्ताखेलबाडबाट आजित भएका जनता वर्तमान राजनीति नेतृत्व र पद्धति प्रति नै निरास छन् । देशमाथि बढ्दो राजनीतिक संकटलाई ख्याल गर्दै बरू वरिष्ठ कम्युनिस्ट नेताहरू नै सिंहानुकको नाममा देशमा कुनै न कुनै प्रकारको राजसंस्था आवश्यक देख्न थालेका छन् । देशकै लागि पूर्वराजा प्रजातान्त्रिक एवम् प्रगतिशील शक्तिसँग हात बटाउन तयार देखिन्छन् । केहीवर्ष पहिलेसम्म सवैधानिक राजतन्त्रको मन्त्र जपेर राजनीति गर्ने देशको प्रजातान्त्रिक एवम् राष्ट्रवादी प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस दिशाहीन भएको छ । पार्टीको नेतृत्व तहमा बसेकाहरूलाई पार्टीको नेतृत्व कसरी हत्याउने भन्ने बाहेक पार्टीलाई वैचारिक एवं सांगठनिक दृष्टिले कसरी उठाउने भन्ने कुनै सोचविचार र कार्यक्रम छैन । देशको भविष्यप्रति कुनै गाम्र्भीयता छैन !
प्रतिक्रिया