काठमाडौं । नेपालको गोल्डस्टार जुत्ता अमेरिकी बजारमा पनि प्रवेश गरेको छ ।
गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चर्सले अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी नेपाली उत्पादन अमेरिकी बजारमा बिक्री–वितरण सुरु गरेको जनाएको छ । अर्भिङ, टेक्ससमा जुत्ताको बिक्री–वितरण सुरु गरेको कम्पनीले जनाएको छ ।
त्यसअघि न्युयोर्कमा आयोजित कार्यक्रममा किरण सुज म्यानुफ्याक्चर्सका अध्यक्ष आमिरप्रताप जबराले गोल्डस्टार जुत्ता अमेरिकाको निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरेका थिए ।
‘हाम्रो अनुभवको तीन दशकको समयमा दुई महाद्वीपहरू पार गरी हामी अब संयुक्त राज्य अमेरिकामा आइपुगेका छौँ । यो सबैभन्दा गर्वको कुरा हो र हामी अमेरिकामा पनि आकर्षक जुत्ताहरू ल्याउने कुरामा प्रतिबद्ध छौं,’ उनले भने ।
गोल्डस्टारको प्रमुख मोडल ‘२०३२ भेरियन्ट’ले नेपालमा ठूलो चर्चा पाएको छ । हरेक पुस्तालाई सफलतापूर्वक गोल्डस्टार जुत्ता मोडेलहरू प्रस्तुत गरेको उनले बताए । गोल्डस्टार जुत्ता धेरै टिकाउ, किफायती, सहज र आकर्षक जुत्ताका रूपमा नेपाली उपभोक्ताले लिँदै आएको पनि उनले बताए ।
किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणाले भनिन्, ‘हाम्रो मेहनतले आज सात समुद्र पार गरेको छ ।
हामीले सामाजिक सञ्जालमा गोल्डस्टार जुत्ताप्रतिको आकर्षण देखेकै थियौँ र आज त्यो आकर्षणलाई नै लिएर हामी अमेरिका आइपुगेका छौं ।’
आफ्नो उत्पादन अमेरिकामा आइपुग्दा कम्पनीको लक्ष्य मानिसको विश्वास र उपभोक्ताको चाहना पूरा गर्नु नै रहेको उनले बताइन् ।
प्रतिक्रिया