देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धान्नै नसक्ने घाटामा आयल निगम

देशान्तर

काठमाडौं । पछिल्लो आठ महिनादेखि नेपाल आयल निगम निरन्तर घाटामा गइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै निगम घाटामा गएको हो ।

विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले संसारभर नै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । कच्चा पदार्थमा भएको मूल्यवृद्धिको अनुपात हेर्ने हो भने निगम अझै नाफामा जाने संकेत देखिँदैन । चालू आर्थिक वर्षको तीन महिना (साउन–भदौ–असोज) मा मात्रै ६ अर्ब ६७ करोड रुपैयाँ घाटा भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । यसैगरी मूल्यवृद्धि हुने हो भने अक्टोबर अन्त्यसम्ममा घाटा नौ अर्ब पुग्ने उनी बताउँछन् ।

उनका अनुसार निगमसँग मूल्य स्थिरीकरण कोषमा करिब ११ अर्ब रुपैयाँ बाँकी छ । मासिक यही क्रमले घाटा हुने हो भने निगमसँग भएको पुँजीले दुई–तीन महिना मात्रै धान्न सकिनेछ ।
निगम घाटामा गएको यो पहिलो पटक भने होइन । विगतमा पनि सार्वजनिक संस्थानको जग्गा राखेर सरकारले निगमलाई इन्धन ल्याउन ऋण दिएको थियो ।

मूल्य नघट्ने हो भने अहिले पनि सोही दिन नदोहोरिएला भन्न नसकिने प्रवक्ता उपाध्याय बताउँछन् ।

निगमले एलपी ग्यासको कारोबारमा भएको अत्यधिक घाटालाई न्यूनीकरण गर्न घरायसी र व्यावसायिक रूपमा छुट्टाछुट्टै तौलको सिलिन्डर बनाई बिक्री गर्ने योजना चालू आवको कार्यक्रममा राखेको छ । उक्त कार्यक्रम सञ्चालनका लागि अध्ययन भइरहेको पनि निगमका एलपीजी विभागका निर्देशक नेत्र काफ्लेले जानकारी दिए । ‘त्यसका लागि नियमावली संशोधन गर्नुपर्छ, छलफल गर्दैछौं,’ काफ्लेले भने ।

उनका अनुसार नियमावलीमा १९, १४.२ र ५ केजीको सिलिन्डर बजारमा पठाउन पाइने उल्लेख छ । हाल बजारमा भने १४.२ केजीका सिलिन्डर नै चल्तीमा छन् । त्योभन्दा बढी केजीका सिलिन्डर बनाएर व्यावसायिक प्रयोजनका लागि दिन निगम जुटेको छ । तर त्यसले टुंगो भने पाइसकेको छैन ।
उनका अनुसार बढी सिलिन्डरका ग्यास निगमको लागत मूल्य बिक्री हुनेछ । घरायसीको ग्यास भने सहुलियत दरमा बिक्री हुँदै आएको छ ।

हाल आरती स्टिल र जगदम्बा स्टिलले निगमको लागत मूल्यमै ग्यास लैजाने गरेको उनले जानकारी दिए । उपभोक्तालाई सरल मूल्यमा इन्धन दिन सरकारले इन्धनमा लगाउँदै आएको कर घटाउन पर्ने उपभोक्ताकर्मीहरूको भनाइ छ ।
इन्धनको कर घटाउन अर्थ मन्त्रालयसँग अनुरोध गरिएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिए ।
अक्टोबर १६ मा आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७७ पैसा, डिजेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर सात रुपैयाँ नौ पैसा वृद्धि भएको छ ।
पन्ध्र दिनमा पेट्रोल बिक्रीबाट ४० करोड ५३ लाख, डिजेल बिक्रीबाट एक अर्ब नौ करोड, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट ११ लाख रुपैयाँ र एलपी ग्यास बिक्रीबाट ७५ करोड ७० लाख गरी दुई अर्ब २२ करोड ६ लाख घाटा हुने निगमको प्रक्षेपण छ ।
मट्टीतेल बिक्रीबाट भने दुई करोड ३३ लाख र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन बिक्रीबाट ९५ लाख नाफा हुने देखिएको छ । तर मट्टीतेल र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्री न्यून भएकाले घाटा पूर्तिमा धेरै सहयोग नहुने निगमको भनाइ छ ।
पेट्रोलको खरिद मूल्य प्रतिलिटर ७६ रुपैयाँ सात पैसा, डिजेल प्रतिलिटर ७८ रुपैयाँ २८ पैसा, मट्टीतेल ६५ रुपैयाँ ६० पैसा र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७३ रुपैयाँ २४ पैसा छ ।

खरिद मूल्यमा सरकारी कर तथा मूल्य अभिवृद्धि कर पेट्रोलमा ५६ रुपैयाँ ९८ पैसा, डिजेलमा ३९ रुपैयाँ ६६ पैसा, मट्टीतेलमा १९ रुपैयाँ ६९ पैसा, आन्तरिक हवाई इन्धनमा १३ रुपैयाँ ११ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा चार रुपैयाँ ६८ पैसा र एलपी ग्यास सिलिन्डरमा २५० रुपैयाँ ८१ पैसा अतिरिक्त शुल्क लाग्ने गरेको छ ।

त्यस्तै, निगमले कार्यालय सञ्चालन, इन्धन मौज्दात, ब्याज, प्राविधिक, ह्रासलगायत विभिन्न शीर्षकमा गरी प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ ९६ पैसा, डिजेलमा एक रुपैयाँ ५६ पैसा, मट्टीतेलमा एक रुपैयाँ ४६ पैसा, मट्टीतेलमा एक रुपैयाँ ४६ पैसा, आन्तरिकतर्फ हवाई इन्धनमा एक रुपैयाँ ४५ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनमा एक रुपैयाँ ४३ पैसा र प्रतिसिलिन्डर ग्यासमा ११ रुपैयाँ ३८ पैसा थप जोड्ने गरेको छ ।

ढुवानी भाडा र बिक्रेताको मुनाफा गरी पेट्रोलको कुल लागत मूल्य प्रतिलिटर एक सय ४५ रुपैयाँ एक पैसा, डिजेलको एक सय २७ रुपैयाँ १६ पैसा, मट्टीतेलको ९३ रुपैयाँ ४१ पैसा, आन्तरिकतर्फ हवाई इन्धनको ९० रुपैयाँ ५६ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको ८२ रुपैयाँ १३ पैसा र ग्यासको लागत मूल्य प्रतिसिलिन्डर एक हजार नौ सय ६१ रुपैयाँ ८८ पैसा छ ।

काठमाडौंमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ३० रुपैयाँ तोकिएको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय १३, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ०.७७० अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार चार ५० रुपैयाँ तोकिएको छ ।

निगमका अनुसार भारतले अक्टोबरमा हालसम्म १४ पटक मूल्यवृद्धि गरिसकेको छ । भारतीय बजार रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोल प्रतिलिटर ४८ रुपैयाँ ८२ पैसा, डिजेलमा ५२ रुपैयाँ ७३ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ०.०६ अमेरिकी डलर र ग्यासमा प्रतिसिलिन्डर १७५ रुपैयाँ ६५ पैसा सस्तो छ ।

भारतीय सीमा क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ रुपैयाँ ३२ पैसा, डिजेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ २३ पैसा र ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ६०५ रुपैयाँ ६५ पैसा छ ।
सीमावर्ती क्षेत्र वीरगन्जमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ ५० पैसा, डिजेलको मूल्य एक सय ११ रुपैयाँ ५० पैसा र ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार चार सय ३० रुपैयाँ छ ।