देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पंजशीर उपत्यका कब्जा गरेको तालिबानको दाबी

देशान्तर

काठमाडौँ — तालिबानले पंजशीर उपत्यका पनि आफ्नो कब्जामा आएको दाबी गरेको छ । तर अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले भने उक्त दाबी झुटो भएको बताएका छन् ।

तालिबानले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग पंजशीर आफ्नो कब्जामा आएको दाबी गरेको हो । पंजशीरमा तालिबानको विरोध गरिरहेको नेसनल रेसिस्टेन्स फ्रन्ट(एनआरएफ) मा हालै सामेल भएका पूर्वउपराष्ट्रपति सालेहले भने अवस्था निकै कठिन भए पनि तालिबानले उपत्यकामा कब्जा नगरेको बताएका छन् । उनले आफू त्यहाँबाट भागेको भन्ने कुरालाई पनि नकारेका छन् ।

शुक्रबारदेखि पंजशीरमा तालिबान र एनआरएफबीच संघर्ष जारी रहेको र सयौं मानिसको मृत्यु भएको बताइएको छ । बीबीसीलाई पठाएको भिडियो सन्देशमा पूर्वउपराष्ट्रपति सालेहले दुवै पक्षका मानिस मारिएको र केही घाइते भएको बताएका छन् । उनले भिडियोमा भनेका छन्, ‘यसमा कुनै सन्देह छैन कि हामी कठिन अवस्थामा छौं । तालिबानले लगातार हामीमाथि आक्रमण गरिरहेका छन् ।’

उनले तालिबानसामु आफूहरुले आत्मसमपर्ण नगर्ने पनि बताएका छन् । ‘हामीले आत्मसमर्पण गर्दैनौँ । हामी अफगानिस्तानका लागि एक ठाउँमा उभिन्छौं,’ उनले भने । आफूले देश छाडेर भागेको भन्ने खबर झुटो भएको भन्दै उनले आफू पंजशीरमै रहेको पनि बताएका छन् ।