काठमाडौँ – तालिबानका शीर्ष नेता मुल्ला हिब्तुल्लाह केही दिनमा सार्वजनिक हुने भएका छन् । बीबीसीको पश्तो सेवासँगको कुराकानीमा तालिबान स्रोतले शीर्ष नेता हिब्तुल्लाह अखुनजादा कन्दहारमा रहेको र केही छिट्टै सार्वजनिक हुने जानकारी दिएको हो ।
उनी एक धार्मिक नेताका रुपमा चिनिन्छन् । उनी सन् २०१६ मा अफगानी तालिबानको प्रमुख बनेका थिए । तालिबानले अफगानिस्तानको सत्ता हत्याउन सफल हुनुमा उनको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ । सन् १९८० को दशकमा अफगानिस्तानमा रुसी सेनाको विरोध गर्नेमध्ये उनी एक थिए । उनको छवि एक सैन्य कमान्डरका रुपमा भन्दा पनि धार्मिक नेताका रुपमा रहेको बीबीसीले जनाएको छ ।
हिब्तुल्लाह सार्वजनिक हुने भएपछि त्यसको तयारीका लागि तालिबानको राजनीतिक विभाग प्रमुख मुल्ला अब्दुल गनी बरादर पनि काबुलबाट कन्दहार फर्किएका छन् । सन् १९९४ मा तालिबान गठन गर्ने चार नेतामध्ये बरादर पनि एक हुन् । गत अगस्टमा राजधानी काबुलमाथि कब्जा गरेसँगै निर्वासनमा रहेका बरादरलगायतका तालिबानी नेता अफगानिस्तान फर्किएका हुन् ।
यसैबीच तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा नयाँ सरकार गठनका लागि वार्ता भइरहेको र छिट्टै त्यसको घोषणा हुने बताएका छन् । मुल्ला हिब्तुल्लाह सार्वजनिक हुने खबरसँगै उनको भूमिका के हुन्छ भन्ने विषयमा सबैको चासो बढेको छ ।
प्रतिक्रिया