देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विभाजनको शृंखलामा नेपालको विद्रोह

देशान्तर

एकताका अमेरिकामा जलचरका प्रजातिमध्ये गँगटाको अभाव उत्पन्न भएपछि भारत र चीनबाट त्यसको आपूर्ति हुन थालेको थियो । कसैले उनीहरूलाई नेपाली गँगटा अझ विशेषतायुक्त छन् भन्ने बताइदिएकाले नमुनाका लागि उनीहरूले नेपाली गँगटा झिकाएछन् । भारत र चीनका गँगटालाई टोकरीमा हालेर लैजाँदा तिनीहरू बाहिर निक्लेर असाध्य दुःखदिने गर्थे । अमेरिका पुगेर नेपाली गँगटाको टोकरी खोल्दा एउटा पनि बाहिर निक्लेको देखिएन । अमेरिकनले त्यसको खोज र अनुसन्धान थालेछन् । त्यसबाट के पत्ता लागेछ भने भएभरका गँगटाले एक अर्काको खुट्टा समातेर तानिरहेकाले कुनै पनि गँगटा टोकरीबाट बाहिर निक्लन नसकेका रहेछन् ।

नेपालका कम्युनिस्टहरूको इतिहास पनि गँगटाको त्यही कथाको वरिपरी रुमलिएको छ । खुट्टा तान्ने नेपाली संस्कार र संस्कृतिको ताजा उदाहरण हो– नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको तानाशाहीका विरुद्ध माधव नेपालको विद्रोह । यद्यपि नेपाल नेतृत्वको नेकपामा समाजवादीको पुच्छर गाँसिएको छ, तथापि नेपाली कम्युनिस्टहरूको फुट्ने र जुट्ने झगडाका पछाडि सैद्धान्तिक कारण कहिल्यै रहने गरेको छैन ।

केही बुद्धिजीवी कहलाउन चाहने उपबुज्रुकहरूले कम्युनिस्टहरूको विभाजनलाई वैचारिक, रणनीतिक तथा क्रान्तिकारी धारको द्योतक भनेर परिभाषित गर्ने प्रयास गरेका किन नहुन्, तर उनीहरूको विभाजनका पछाडि न हिजो सैद्धान्तिक कारण थियो, न आज छ । माक्र्सवादले परिकल्पना गरेको कम्युनिस्ट क्रान्ति होस् अथवा लेनिनले देखाएको सत्ता कब्जाको रणनीति अपनाउन होस् वा माउत्से तुङको नयाँ जनवाद स्थापित गर्ने दिशामा होस्, त्यस्ता मूलभूत सिद्धान्तका मार्गदर्शनबाट नेपाली कम्युनिस्टको गोरु बेचेको साइनो पनि रहने गरेको छैन । हो, उनीहरूका दस्तावेजमा तिनको उल्लेख अवश्य पाइन्छ तर तीमध्ये कुनै पनि मोडेललाई उपलब्ध गर्ने दिशामा उनीहरू लाग्ने गरेका छैनन् । जहिले पनि छोटो र चोर बाटो पक्रेर सत्तामा पुग्ने मात्र ध्याउन्न रहने गरेको छ ।

नेपालका पहिलो पुस्ताका कम्युनिस्टहरूमा कार्ल माक्र्सले सन् १८४८ मा लेखेको कम्युनिस्ट पार्टीको घोषणापत्रलाई, १०१ वर्षपछि अर्थात् १९४९ मा, त्यसैलाई नेपाली भाषामा अनुवाद गर्नुबाहेक बौद्धिक बहस चलाउने ल्याकत, त्यो जमातको नेतृत्वपंक्तिमा थिएन । त्यसैले क्रान्ति गर्ने र सर्वहारा वर्गको नेतृत्वका कम्युनिस्ट पार्टीको तानाशाही स्थापनाको अतिरिक्त त्यस्तो शासन व्यवस्था कसरी स्थापना हुन्छ, त्यसको सांगोपांग तस्बिर उनीहरूमा प्रष्ट थिएन । अन्योलमै उनीहरूले कम्युनिस्ट पार्टी खोलेर त्यसपछि त्यसका बारेमा अध्ययन थालेका थिए । अहिलेका नेताहरू पनि तिनैका चेला भएकाले उनीहरूमा पनि वैचारिक स्पष्टता छैन । त्यसैले उनीहरू कहिले सोभियत मोडेलको, कहिले चिनियाँ नयाँ जनवादको अनि कहिले युरोकम्युनिजमको फोटोकपी जबज, अर्थात् जनताको बहुदलीय जनवादको नाम जप्न पुग्छन् । उनीहरू, यथार्थमा न यो हुन् न ऊ हुन् । सिद्धान्तनिष्ठा नभएका झुन्ड मात्र हुन् ।

उनीहरूलाई तीनथरीले उद्धार गरिदिएकाले आजको ‘सेप एन्ड साइज’मा आइपुगेका हुन् । पहिलो हुन्, राजा महेन्द्र । दोस्रो गणेशमान सिंह हुन् भने तेस्रो भारत हो । २०१७ साल पुस १ गते प्रजातन्त्रको अपहरण गरेपछि नेपाली कांग्रेसले प्रजातन्त्र पुनस्र्थापनाका लागि सशस्त्र आन्दोलन चलाएको थियो । राजासँग कांग्रेसको सामना गर्ने देशव्यापी संगठन थिएन । त्यो अभाव उनले स्कुलका शिक्षक भएर बसेका कम्युनिस्टलाई प्रयोग गरेर पूरा गरेका थिए । आइडिट फर्मुलाअन्तरगत घुसपैठ गराइएका कम्युनिस्टको भूमिगत संगठनको विकास र विस्तार त्यसै बेलादेखि भएको हो । नक्सालवादी शैलीको क्रान्ति गर्न घरमा सुतेका मान्छेको टाउको काट्दै हिँडेका उहिलेका झापाली तथा अहिलेका एमालेले २०३७ वैशाख २० को जनमतसंग्रहमा बहुदलका विरुद्ध पञ्चायतको पहेँलो रङमा भोट हालेको कारण पनि त्यही थियो ।

त्यत्ति मात्र होइन, चाहे विद्यार्थी आन्दोलन होस्, अथवा किसान र मजदुरको आन्दोलन होस्, प्रजातन्त्रवादीको नेतृत्वमा भएका सबै आन्दोलनमा क्रान्तिकारी नारा दिने तर घोर प्रतिक्रियावादी राजाका हातका लौरो बनेर प्रजातन्त्रवादीको पुर्पुरो सेक्न प्रयोग हुँदै आएका कम्युनिस्ट नामको त्यो लौरो राजाका हातबाट खोसेर उनैमाथि प्रहार गर्न गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनमा उनीहरूलाई प्रयोग गरेकाले उनीहरूले कांग्रेससित कुम जोरेर अघि बढ्ने अवसर पाएका हुन् । कम्युनिस्टसित गठबन्धन नगर्ने कांग्रेसको पहिलेदेखिकै घोषित नीतिलाई उल्टाएर उनीहरूलाई आन्दोलनमा डो¥याउन गणेशमान सिंहले दुइटा सर्त राखेका थिए– एक, बहुदलीय राज्यव्यवस्था स्वीकार गर्नु पर्ने र दोस्रो हो– कम्युनिस्टहरू एक्लाएक्लै होइन, मोर्चा बनाएर आन्दोलनमा सहभागी हुनुपर्ने । दुवै सर्त मानेर उनीहरू सहभागी बने, आन्दोलन सफल भयो । खुला राजनीतिमा कम्युनिस्टहरू सशक्त शक्तिका रूपमा त्यसपछि मात्र स्थापित भएका हुन् । त्यसपछिको इतिहास खुला पुस्तक हो । सबैलाई ज्ञान छ ।

नयाँ जनवाद ल्याउन कथित् जनयुद्धका नाममा १७ हजार नेपालीको हत्या गरिसकेपछि दिल्लीमा बाह्रबुँदे सम्झौता गरेर नेपालको प्रजातन्त्रको ठाउँमा भारतको लोकतन्त्र भित्र्याउने माओवादीलाई अहिलेको स्थान र स्थितिमा ल्याउने भारतको भूमिकाको चर्चाबिना यो टिप्पणी अधुरै हुन्छ । नेपालका कम्युनिस्टहरू यति धेरै पटक विभाजित भएका छन् कि त्यसको लेखा, खुद कम्युनिस्ट पार्टीसँग पनि छैन । त्यो शृंखलामा एमालेको विभाजन र माधव नेपालको समाजवादी पार्टीको उदय, कम्युनिस्ट आन्दोलनका लागि जतिसुकै अनिष्ट भए पनि प्रजातन्त्रका निम्ति भने अत्यन्त शुभ सन्देश बनेर सञ्चारित हुन पुगेको छ । अप्रजातान्त्रिक कम्युनिस्टको नेतृत्वमा प्रजातान्त्रिक नेपालको भविष्य निर्माण सम्भव थिएन । भएन पनि । त्यस्तो अस्वाभाविक तथा असहज यात्राले गन्तव्य फेला पार्न नसक्नु पनि उत्तिकै स्वाभाविक थियो । त्यसका लागि ओलीको तेजोबध र माधव नेपालको पुनरुत्थान अपरिहार्य थियो । त्यही भयो । त्यसको प्रभाव, एकै पटकमा प्रकट हुन सक्ने कुरा होइन, त्यो सुस्तरी तर आफ्नै गतिमा क्रमशः खुल्दै जानेछ ।