नवलपुर– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी बर्दघाट–सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् ।
वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही वडाकै कोलियाका केही टोलमा समेत पानी पसेको छ । स्थानीय बासिन्दाको घर गोठको भूइँतलामा पानी पसे पनि धेरै क्षति हुन भने नपाएको हुप्सेकोट–३ का वड़ाध्यक्ष छविलाल मिथुनले जानकारी दिए ।
यस्तै वडा नम्बर नं ३ बेलहानी र गिरुबारीबीच भागबाट गिरूवारी खोला पसेको छ । विसं २०५७ मा जापान सरकार र नेपाल सरकारको प्रयासमा जाइकाले निर्माण गरेको तटबन्ध नै पार गरेर खोला गिरुबारीको बस्ती तथा खेतमा पसेको हो । खेतमा बाढी पसेपछि करीब २० बिघा क्षेत्रफलमा लगाइएको धान नष्ट भएको जनाइएको छ ।
त्यहाँ करीब १०० बिघाको खेती प्रभावित बनेको स्थानीयवासी विश्वराज लामिछानेले बताउनुभयो । यो तटबन्धलाई तत्काल व्यवस्थित गर्न नसकिए थप क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले नवलरासीको पूर्वी क्षेत्रमा शुक्रबारसम्म उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
विभागले आज नागरिकको मोबाइलमा सन्देश पठाउँदै थप वर्षा हुनसक्ने भएकाले उच्च सर्तकता अपनाउन आग्रह गरेको हो । पछिल्लो १२ घण्टामा यसक्षेत्रमा १६७।८ मिलिमिटरसम्म पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिक्रिया