देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनताको नजरमा ओली निरंकुश र लोकतन्त्रविरोधी: दाहाल

देशान्तर

जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद पुनर्स्थापनाको कुनै विकल्प नै नरहेको बताएका छन् । आज (मंगलबार) जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य र मान्यताअनुसार संसद पुनर्स्थापनाको विकल्प नरहेको बताएका हुन् ।

‘अहिले त सरकारले बढी संविधान मिच्ने, लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिने काम गरेको छ त्यसैले यस्तो अवस्थामा संसद पुनर्स्थापना मात्रै होइन कि मलाई विश्वास छ १४९ सदस्यको हस्ताक्षरसहित राष्ट्रपति कहाँ बुझाएको आधारपत्र र १४६ को हस्ताक्षरसहित सर्वोच्च रिट प्रतिवेदनका आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ’, दाहालले भने ।

‘संसद पुनर्स्थापना नहुनुको अर्थ संविधान मिचे पनि भयो, लोकतन्त्र मिचे पनि भयो जनताको भावना विपरीत जे पनि गरे हुन्छ भन्ने नजिर स्थापना हुन्छ,’ उनले थपे, ‘त्यसैले यस्तो हुँदैन भनेर म कल्पना समेत गर्न चाहँदिन ।’ प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताको नजरमा एउटा निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा बद्नाम भइसकेको आरोप लगाउँदै दाहालले प्रधानमन्त्रीको दबावले अब केही पनि हुन नसक्ने दाबी गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य महादेव यादवको सोमबार राति भएको असमायिक निधनप्रति शोक व्यक्त गर्न र प्राथिव शरिरलाई पार्टीको झण्डा ओढाउन दाहाल जनकपुर आइपुगेका हुन् ।