हेटौंडा – बागमती प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालको लागि स्थगित भएको छ। सोमबार बसेको बैठकको सुरुवातमै प्रतिपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक अनिश्चितकालको लागि स्थगित भएको हो।
सभामुख सानुकुमार श्रेष्ठले बैठक अगाडि बढाउने क्रममा प्रतिपक्षी दलहरुले रोष्टमबाट उठेर विरोध जनाएपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको संसदीय दलको नेता शालिकराम जम्कट्टेललाई बोल्न समय दिएका थिए।
जम्कट्टेलले प्रदेश सरकारले आगामी आवको लागि ल्याएको बजेट प्रदेशबासीको हितविपरीत भएको भन्दै त्यसलाई सच्याएर नल्याएसम्म संसद चल्न नदिने बताए। सरकारले अपारदर्शी ढंगले बजेट ल्याएको भन्दै सरकारसँग एउटा निष्कर्षमा नपुगेसम्म संसदलाई अगाडि नबढाउन सभामुखलाई आग्रह गरे।
अन्य प्रतिपक्षी दलले पनि जम्कट्टेललाई सहमति जनाएपछि सभामुखले अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित गरेका हुन्।
प्रतिक्रिया