देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संयुक्त वक्तव्य निकाल्न माधव नेपाललाई ओली पक्षीय नेताको आग्रह

देशान्तर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेटेर ओली–नेपालको संयुक्त वक्तव्य निकाल्न प्रस्ताव राखेका छन् । आइतबार बिहान ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल वरिष्ठ नेता नेपालको निवास कोटेश्वर पुगेर नेता नेपालसमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।
‘पार्टी एकताको सन्देश दिन संयुक्त वक्तव्य निकालौँ, त्यसका लागि अध्यक्षसँग एकपटक भेटवार्ता गरौं’, ओली पक्षका नेताहरुले नेता नेपालसँग प्रस्ताव गरेका थिए ।

नेम्वाङ, पौडेल र पोखरेलको साथमा माधव पक्षका नेता घनश्याम भुसालसमेत कोटेश्वरको छलफलमा सहभागी थिए ।

भेटमा नेता नेपालले हस्ताक्षर फिर्ताको प्रस्तावबारे आफूले यसअघि नै जवाफ दिइसकेको भन्दै हस्ताक्षर फिर्ताको कुनै सम्भावना नरहेको बताएका थिए ।

नेता नेपालले पार्टी एकताका लागि निःशर्त जेठ २ फर्कन आफुले राखेको प्रस्तावलाई अध्यक्ष ओलीले वेवास्ता गरेर पार्टी एकता नचाहेको समेत बताएका थिए । त्यस्तै नेता नेपालले ओली पक्षबाट एकताका लागि अर्मूत कुरामात्रै हुने गरेको र जेठ २ मा फर्कने चाहाना नै नराखेको जनाएका थिए ।

माधव पक्षका २३ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । ओली पक्षले ती सांसदको हस्ताक्षर फिर्ता गरेमात्रै एमाले एकता हुन सक्ने बताएका छन् । नेता नेपाललाई भेटेपछि ओली पक्षका नेता पुनः अध्यक्ष ओलीलाई भेट्न बालुवाटार गएका छन् । यसअघि अध्यक्ष ओलीले शनिबार बसेको बालुवाटार बैठकमा सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नगरे कारवाही गर्ने चेतावनी दिएका थिए ।