देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रगतिशील शक्तिलाई बदनाम गर्न अनेक् प्रयास भइरहेका छन् : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिशील शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको बताएका छ।

शुक्रबार नेकपा ९एमाले०को केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रको प्रगतिशील शक्तिलाई बदनाम गर्न र कमजोर पार्न अनेक खालका प्रयासहरू भइरहेको बताएका हुन्।

देशलाई अनुशासनहीन, उच्छृखंल र सामाजिक सभ्यताहरूको उल्लंघन गरेर स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजिएको पनि उनले बताए। भने, ‘अनुशासन उल्लंघन गर्नुलाई बहादुरी ठान्ने प्रवृत्ति, त्यस्ता कुराहरूले अहिले पनि आन्दोलनको संगठित तवरले घोषणा गर्ने, निषेधाज्ञा तोड्ने, उल्लंघन गर्ने, हामीलाई कसले के गर्न सक्छ भन्ने खालका भावना राख्ने ती प्रवृत्तिहरू बढेका छन्। अहिले राजनीतिक मुद्दा आफ्नो ठाउँमा छन्, राजनीतिक थलोबाट मुद्दालाई अदालततिर पठाइएको छ। जनतामा जान नदिने प्रयासहरू भइरहेका छन्। ती प्रयास सँगसँगै अदालतलाई दबाब दिन र खासगरी प्रगतिशील शक्तिलाई बदनाम गर्न त्यसलाई कमजोर पार्न, त्यसलाई छिन्नभिन्न पार्न अनेक प्रयास भएका छन्।’

उनले नेकपा एमालेलाई जनताको बीचमा साख गिराएर ध्वस्त पार्न लागिएको पनि आरोप लगए। आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउन संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको ओलीले बताए।

‘हाम्रो पार्टीको साख जनताबीच गिराउन खोज्ने, हाम्रो पार्टीको मर्यादा ध्वस्त पार्न खोज्ने त्यस्ता काम हुने गरेका छन्। आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षी दलका नेतृत्वमा सरकार बनाउने जस्ता लोकतन्त्र, संसदीय अभ्यास, दलीय प्रणाली, दलीय अनुशासन उल्लंघन गर्ने र अराजकताको स्थिति सिर्जना गर्ने त्यस्ता खालका कामहरू पनि भइरहेका छन्,’ ओलीले थपे।

निषेधाज्ञालाई तोडेर राजनीतिक दलहरू पुत्ला दहनमा लागेका भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कर्तव्य पालना गरिरहेको जिकिर गर्दै राष्ट्रपति भण्डारीमाथि निकृष्ट तहमा ओर्लिएर गालीगलौज, अपमान र झुठा लाञ्छना लगाएर समाजलाई असभ्य बनाउन खोजिएको पनि उनले बताए।