देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युरो २०२० को क्वाटरफाइनलका खेल आज

देशान्तर

युरो २०२० अन्तर्गत शुक्रबारदेखि सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ । आजको पहिलो क्वाटरफाइनल खेलमा स्वीट्जरल्याण्ड र स्पेन आमने सामने हुने छन् ।

समूह चरणमा उत्कृष्ट तेस्रो हुँदै प्रि क्वाटरफाइनलमा पुगेको स्वीट्जरल्याण्डले अन्तिम आठ प्रवेशको भिडन्तमा विश्व विजेता फ्रान्समाथि पेनाल्टी सूटआउटमा ५–४ गोल अन्तरको जित निकालेको थियो ।

निर्धारित समय तीन तीन गोलको बराबरी भएपछि थपिएको समयमा पनि गोल नहुँदा युरोको पहिलो नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको थियो । फ्रान्सलाई पराजित गरेको स्वीट्जरल्याण्ड पुरानै लय दोहोर्‍याउने पक्षमा रहेको छ ।

उता स्पेनले पनि क्रोएशियामाथि ५–३ गोल अन्तरको जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको थियो । समूह चरणमा स्पेन दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

क्रोएशियाविरुद्धको जितले पनि स्पेनको मनोबल उच्च हुनुपर्छ । निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि थपिएको समयमा २ गोल थपेको स्पेनले विश्वकपको उप विजेता क्रोएशियालाई स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान बनाएको थियो । स्पेन र स्वीट्जरल्याण्डको खेल नेपाली समय अनुसार राति पौने १० बजे हुने छ ।

यसैगरी आजै हुने दोस्रो खेलमा बेल्जियम र इटाली खेल्ने छन् । इटाली समूह एबाट शतप्रतिशत नतिजाका साथ नकआउट चरणमा प्रवेश गरेको थियो । उसले राउण्ड अफ सिक्सटिनको भिडन्तमा अस्ट्रियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो ।

उता फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमले पनि समूह चरणमा शतप्रतिशत जित निकालेको थियो । राउण्ड अफ सिक्सटीनमा डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई १–० गोल अन्तरले स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान बनाएको थियो । बेल्जियम र इटालीबीचको खेल राति पौने १ बजे शुरुहुने छ ।