देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभा विघटन : निवेदकका तर्फको बहस आज सकिने

देशान्तर

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी परेको रिट निवेदका तर्फबाट आज प्रारम्भिक बहस सकिने भएको छ ।

रिट निवेदक पक्षले सुरुवाती बहस गर्ने समय आज सकिन लागेको हो । संवैधानिक इजलासले निवेदक पक्षलाई अब बहसका लागि ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएको छ ।


इजलासको आदेश अनुसार निवेदक तर्फका कानुन व्यवसायीलाई आज ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । आज रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेललाई ३०÷३० मिनेटको समय दिइँदै छ ।

यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यले २०÷२० मिनेट बहस गर्दैछन् ।

अधिवक्ता टिकाराम भट्टराईलाई बहसका लागि १५ मिनेट छुट्याइएको छ । अरु कानुन व्यवसायीहरुलाई न्यूनतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ ।

अस्ति बुधबारदेखि सुरु भएको बहसमा निवेदकको तर्फबाट हिजोसम्म १४ कानुन व्यवसायीले बहस गरिसकेका छन् । आज रिट निवेदकको तर्फबाट कानुन व्यवसायीहरुको सुरुवाती बहस सकिएपछि आइतबारदेखि रिट निवेदनको विपक्ष अर्थात सरकारी पक्षको बहस सुरु हुनेछ ।
सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ ।

विपक्षी अर्थात सरकारी पक्षको सुरुवाती बहस सकिएपछि रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय तय गरिएको छ ।

यसैबीच, निवेदकको तर्फबाट ३६ जना वरिष्ठ अधिवक्तासहित दुई सय ६२ जनाले बहस नोट पनि पेस गरेका छन् । रिट निवेदकको तर्फबाट बहस नोट बुझाएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत आग्रहबाट प्रेरित भएर प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका छन् ।

त्यस्तै, निवेदकको विपक्षी एवम् सरकार पक्षले पनि बहस नोट बुझाएका छन् । उनीहरुले राष्ट्रपतिको निर्णयमाथि न्यायालयमा प्रश्न उठाउन नमिल्ने जिकिर गरेका छन् ।