युरो २०२० अन्तर्गत इंग्ल्याण्ड समूह डीको विजेता बनेको छ । मंगलबार भएको खेलमा चेक गणतन्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै विजेता बनेको छ । इंग्ल्याण्डलाई जित दिलाउन रहिम स्टर्लिङले पहिलो हाफमा गरेको एक मात्र गोल नै पर्याप्त बन्यो ।
शुरुदेखि नै चेक गणतन्त्र माथि दबाव कायम राखेको इंग्ल्याण्डले १२ औं मिनेटमा अग्रता बनाएको थियो । ज्याक ग्रिलिसको क्रसमा स्टर्लिङले हेडर गोल गरेका थिए ।
पहिलो हाफको भन्दा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि चेक गणतन्त्रले पनि गोल फर्काउन सकेन ।
यो नतिजासँगै इंग्ल्याण्डले समूह चरणका तीन खेलबाट सात अंक जोडेको छ । पराजित भएको चेक गणतन्त्र चार अंकका साथ तेस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहे पनि अन्तिम १६ मा स्थान भने बनाउन सफल भएको छ ।
अर्को खेलमा क्रोएशियाले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । यो नतिजाले क्रोएशिया उप विजेता बन्न सफल भएको थियो ।
क्रोएशिया र चेक गणतन्त्रको समान चार अंक भएपनि गोल अन्तरका आधारमा उप विजेता भएको हो ।
निकोला व्लासिकले १७ औं मिनेटमा गोल गरेपछि क्रोएशियाले अग्रता लिएको थियो ।
४२ औं मिनेटमा कलुम म्याकग्रेगरले गोल गरेपछि स्कटल्याण्डले पहिलो हाफमा बराबरी गरेको थियो । त्यसपछि लुका मोड्रिक र इभान पेरिसिचले एक एक गोल थपेपछि क्रोएशिया ३–१ गोल अन्तरले विजयी भयो ।
प्रतिक्रिया