काठमाडौं उपत्यकामा तीन वटै (काठमाडौं, भक्तपुर र ललितपुर) जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण सेवा आजदेखि पुनः सञ्चालन हुने भएको छ ।
कोरोना संक्रमण बढेसँगै जारी निषेधाज्ञाका कारण यसअघि स्थगित गरिएका सम्पूर्ण सेवा आजदेखि नियमित सञ्चालनमा ल्याउने भएका छन् ।
गएको वैशाख १३ गतेदेखि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको थियो ।
जनस्वास्थ्यका मापदण्ड पूरा गरी सम्पूर्ण सेवा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
गत वैशाख १६ गतेदेखि स्वास्थ्य, शान्ति सुरक्षालगायत अत्यावश्यक सेवाबाहेक कार्यालयबाट उपलब्ध हुने अन्य सेवा बन्द भएका थिए ।
आजदेखि नियमित रुपमा नागरिकता, परिचयपत्र, राहदानी वितरण, सिफारिस जस्ता सेवा प्रवाह हुनेछन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि विज्ञप्ति निकालेर सबै सरकारी एवं सार्वजनिक निकायलाई नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ ।
आइतबार सम्पन्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले मंगलवारदेखि निषेधाज्ञा खुकुलो बनाउनेसहित सरकारी सेवा प्रवाह तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया