काठमाडौं – उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ।
अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ। निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइनेछ।
आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको अधिकारीले बताए । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।
खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने अधिकारीले जानकारी दिए।
प्रतिक्रिया