देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपद् पूर्वतयारीमा जुट्दै स्थानीय तह

देशान्तर

डोटी– वर्षातका कारण जिल्लामा बाढीपहिराको जोखिम बढ्दै गएपछि यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह विपद् पूर्वतयारीमा जुट्न थालेका छन्।

विपद्का कारण हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि यहाँका स्थानीय तहले पूर्वतयारी थालेका छन्।

गत वर्षभन्दा यस वर्ष पानी धेरै आउने जल तथा मौसमविद्ले पूर्वानुमान गरेअनुसार जिल्लामा बाढी तथा पहिरो गई क्षति हुन सक्ने भएकाले जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा सार्नेलगायत तयारीमा यहाँका स्थानीय तह लागिपरेका छन्।

पछिल्लो समय जलवायु परिवर्तनका कारण हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि आवश्यक तयारीमा स्थानीय तह जुट्न थालेको सुदूरपश्चिम गाउँपालिका महासंघका अध्यक्षसमेत रहेका जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए।

दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, जोरायल, सायल, बडिकेदार, आदर्श, बोगटान फुड्सिल, पूर्वीचौकी तथा केआइसिंह गाउँपालिका बाढी पहिराबाट नागरिकसहित अन्य क्षति हुन नदिनका लागि विपद् पूर्वतयारीमा जुट्न थालेको बताइएको छ।

वर्षातका समयमा बाढी, पहिराका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई दृष्टिगत गर्दै आवश्यक तयारीमा जुटेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताए।

यसैगरी, शिखर नगरपालिकाले पनि आफ्नो नगरभित्रका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तर कार्यमा लागिरहेको नगर उपप्रमुख धौलीदेवी रावले जानकारी दिए। उनका अनुसार वर्षाअघि जोखिमयुक्त बस्तीलाई अस्थायी रूपमा सुरक्षित ठाउँमा सारेर जिउधनको सुरक्षा गर्ने तयारीमा नगरपालिका लागिपरेको छ।

बाढीपहिरोजस्ता दैवी विपत्तिका कारण यहाँका नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले विपद् पूर्वको तयारीका साथै पछिको उद्धारलगायत व्यवस्थापनका लागि जनप्रतिनिधिको सहयोगमा कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सवारी साधन, सवारी चालकलाई ‘हाई अलर्ट’ मा राख्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताए। उनले भने, ‘विपद् आइपरे समाधान गर्नका लागि प्रयोग गर्न सबै जनशक्ति तयारी अवस्थामा राखेका छौँ, जनधन तथा नागरिकको सुरक्षा कसरी गर्ने भन्ने विषयमै केन्द्रित भएका छौँ।’

यसैगरी, जिल्ला विपद् व्यवस्थापन समितिले वर्षातका कारण यहाँका ग्रामीण भेग जाने सडक पहिरोका कारण बन्द हुन सक्ने भएकाले स्थानीय तह तथा अन्य निजी क्षेत्रका डोजर, स्काभेटर समन्वय गरी बाटो पुनः सञ्चालन गर्ने, जुनसुकै बेला पनि समस्या आउन सक्ने भएकाले सवारी चालक तथा साधनको व्यवस्थापन गर्ने र विपद्पछिका कार्यमा उद्धारका लागि सबै निकाय संयुक्त रूपमा तत्काल परिचालन गर्ने निर्णयसमेत गरेको छ।