देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेती नदीले खतराको सतह पार गर्‍यो, जोखीम बढ्यो

देशान्तर

बझाङ – बझाङमा सेती नदीले खतराको सतह पार गरेको छ। सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो। नदीमा पानीको बहाब बढेसँगै नदी किनारामा कटान सुरु गरेको छ।

कटानका कारण नदी किनाराका बस्ती र उर्बर भूमि जोखिममा परेका छन्। नदीको बहाब बढी आएकाले भर्खरै निर्माण सम्पन्न चैनपुर–पानकोट जोड्ने मोटरेबल पानकोटमा रहेका ओम शान्ति र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन पनि जोखिममा परेका छन्। पुल, दुवै भवनको मुनिबाट नदीले कटान गरिसकेको छ। केही ठूला ढुंगाका कारण मात्रै भवनसम्म पहिरो फुट्न सकेको छैन।

जिल्ला प्रशासन कार्यालयले ढुंगा फुटाउने डोजर लगाएर नदीको बहाब बीचमा लगाउन मेसिन खोज्दा नभेटिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए। प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले नदीमा बाढीले खतराको सतह पार गरेको सूचना आएको बताए। उनले भने, ‘तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छौं।’

अधिकारीका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ।

यस समयमा दाउरा काठ उतार्ने, माछा मार्ने जस्ता कार्य पनि नगर्न तथा पानकोट पुल, बाहुलिगाड पुललगायत सेती नदी र बाहुलीगाड आसपास मानिसहरूलाई प्रहरी परिचालन गरेर रोक लगाएको छ।