देश संकटग्रस्त छ । कोभिड– १९ संक्रमणले जीउ–धनको असीमित क्षति गर्दैछ । प्रमुख जिल्ला अधिकारीमार्फत बैशाख १६ देखी जारी गरेको निषेधाज्ञा डेढ महिना बितीसक्दा पनि अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन । संक्रमितको संख्या केही कमी हुन थालेको लक्षणहरु देखापर्न थाले पनि मृत्युदर उच्च छ । अस्पतालमा बिरामीको चाप घटेको छैन । अक्सीजनको आपुर्ती माग अनुरुप हुन सकेको छैन । संक्रमित परिक्षण परिधि संक्रमणको शंका लागेपछि टेष्ट गर्न आउनेमा सीमित छ । संक्रमितको सम्पर्कमा आउनेहरुको पहिचान गर्ने पद्धती अझै लागु भएको छैन । सरकारद्वारा प्रस्तुत गरिएका संक्रमित तथा मृत्युवरण संख्या बिबादित छ । कोभिड संक्रमण फैलावट काबुमा आएको छैन । खोप ३ प्रतिशत भन्दा कमले पाएका छन् । अधिकांश नागरीकहरुका निमित्त खोपको आपुर्ती मृगतृष्णा समान छ ।
अर्कोतर्फ खड्गप्रसाद शर्मा ओलीको नेतृत्वको कामचलाउ सरकार आक्रामक हुदै बिधिको शाशन पद्धती तथा प्रणालीको धज्जी उडाउँदै छ । लोकतान्त्रिक प्रणालीका रक्षाकवच संस्था तथा संरचनाहरु एक पछि अर्को गरेर भताभुङ्ग पारिदै गरेको कार्यलाई गति दिईदै छ । सरकारद्वारा संरक्षित डनहरु शक्ति आर्जनमा जुटेका छन् । कालोबजार तथा भ्रष्टाचार मौलाउँदै छ । ब्यापक रुपमा दण्डहीनता फस्टाउँदै छ । संबिधानलाई मृत्युशैय्यामा पु¥याइएको छ । अध्यादेश जारी गर्दै शासन संचालन गरीदै छ । नियोजित रुपमा लोकतन्त्रलाई खड्गतन्त्र (मनपरीतन्त्र)ले बिस्थापित गरिदै छ । राष्ट्रिय ढुकुटीमा रजगज जमाउने कार्यले निरन्तरता पाउँदैछ । गरीबी, बेरोजगारी तथा भुखमरीको चपेटमा पर्ने नागरीकहरूको संख्या बढ्दै छ । देशलाई जबर्जस्ती असफल राष्ट्रमा परिणत गरिदैछ ।
बिधमान अबस्थामा नेपाली काग्रेस के गर्दै छ ?
खड्गप्रसादद्वारा संघीय संसदमाथि गरेको दोश्रो घातक खड्ग प्रहार पछि कांग्रेस सभापती सक्रिया हुन थालेका छन् । प्रधानमन्त्रीलाई बिस्थापित गरेर राष्ट्रको नेतृत्व गर्ने जिम्मेबारी खड्गप्रसाद पिडितहरुको झुण्डले तिनलाई सुम्पिएका छन् । संघीय संसदमा नेपाली काग्रेसको उपस्थिति सानो थियो । अंकगणीतीय कारणले गर्दा खड्गप्रसादले संसद विगठन गर्नुपूर्व तिनको शक्तिलाई चुनौती दिने हैसियत नेकासँग थिएन । अग्रपंक्तिका खड्गप्रसाद बिरोधी खेमाका कम्युनिष्ट नेताहरु शेरबहादुरको समर्थनमा जुटेका छन् । ति मध्ये कुनैलाई खड्गप्रसादले अपमानित गरेकोमा बक्र छन् । कुनैसँग गरेको सत्ता हस्तान्तरण गर्ने सहमती उलघन गरेर शत्रु ब्यबहार गरेको आलो घाउ छ । कुनैलाई भने उपप्रधानमन्त्री पद दिएर निर्वस्त्र टुडिखेलमा दगुर्याएको अनुभव छ । सबै लिच्ची खानेले बोक्रा र बिया फालेर गुदी खाएको जस्तो गरेको तितो अनुभब छ खडगप्रसादसँगको सहबासको । त्यसरी डामिएका नेताहरूको मोर्चाबन्दीले काग्रेस सभापतिलाई प्रधानमन्त्री पद सुनको थालीमा सुम्पिएर सकृय तुल्याएका हुन् । आजका दिनसम्म प्रचण्ड, यादब तथा नेपालले ओलीको बर्हिगमन पश्चात देउवालाई प्रधानमन्त्री पद सुम्पन तयार छन् । नबमित्रता ‘शत्रुको शत्रु मित्र’को परिणाम हो । कथमकदाचित सर्वोच्चले खडगप्रसाद ओलीका कदमहरुलाई संबैधानिक ठहर ग¥यो भने शेरबहादुरको प्रधानमन्त्री बन्ने सम्भावना समाप्त हुने छ । उक्त संभाबना टरेसँगै नबनिर्मित मित्रता तासको घरमा परिणत हुने निश्चित छ ।
हालसम्म फुट्न फुट्न मात्र लागेको हो, एमाले फुटी सकेको भने छैन । खडगप्रसाद एकपछि अर्को षड्यन्त्रको जाल फाल्नमा व्यस्त छन्, ‘पार्टी एकता’ जोगाउने नाममा । अघिल्लो हप्ताको शुरुवातमै उनले महाजाल फाले । लचिलो हुँदै माधब नेपाल, झलानाथ खनालको प्रमुख माग पुरा गरी दिने परिपत्र जारी गरे । खड्गप्रसादले फालेको उक्त जाललाई माधब नेपाल पक्षधर दोश्रो पंक्तिका चर्चित नेताहरूले सकारात्मक कदम ठहर गरे । सर्वोच्चमा बिचारािधन मुद्दा फिर्ता लिनुपर्ने शर्तले कामरेड नेपाललाई झस्कायो । परामर्शका निमित्त उनी दहाल हुँदै देउवाको आगनमा पुगे । यदी खड्गप्रसादलाई अलिकती पनि बिश्वास गर्न सक्ने भएको भए नेपाल उक्त महाजालमा पर्ने थिए ।
कमुनिष्ट स्कुलिंगमा हुर्केका तथा उच्च कोटीको ढुलमूले चारित्रिक विशेषता बोकेका नेताहरूले बिगतमा ‘सोझो’ शेरबहादुरलाई पटक–पटक धोखा दिइसकेका छन् । कुनैपनि दिन पार्टी एकता अथवा बृहत कम्युनिष्ट एकता कायम गर्ने अभियानलाई कारण देखाएर लुसुक्क खड्गप्रसादको पोल्टामा माधब नेपाल तथा पुष्पकमल दाहाल लगायत यादबसमेत पनि जान सक्दछन् । देउवालाई थाहा छ वर्तमान कालखण्डको न्यानो मैत्रीभाव ‘इखमा बिष’ खादाको परिणाम हो । कोरोना संक्रमणलाई बेवास्ता गर्दै सर्वोच्च अदालत पुगेका माओबादी, एमाले तथा जसपाका संसदहरूको प्रयास त्यतिबेला मात्र सार्थक हुनेछ जब संवैधानिक इजलासले प्रधानमन्त्रीको वर्तमान शासकिय अधिकार गैर संबैधानिक ठहर गर्नेछ । उक्त निर्णयले गाइको ढाडमा टासिएको लेखाली खरीजुकालाई झार्न नुनको काम गर्ने छ, सत्तामा टासिएका खडगप्रसादलाई सत्ताच्युत गर्नका निमित्त ।
खडगप्रसादको बर्हिगमन पछिका संकेत
सर्वसाधारणका निमित्त सबैभन्दा चासोको बिषय यही हो । धेरैले प्रश्न गर्दछन– के देउवा खडगप्रसाद भन्दा फरक हुन्छन ? बिगतमा देउवा, दाहाल, नेपालको तथा यादबले निर्वाह गरेको भूमिकाले निरन्तरता पायो भने परिणाम निरासाजनक नै हुने प्रबल सम्भावना छ । खडगप्रसादको बर्हिगमन पछि उनीहरुबीच शक्तिको साझेदारीका निमित्त ‘घनीभुत छलफल’ हुनेछ । यथार्तमा उक्त छलफल ‘हर्स ट्रेडिङ्ग’ हुनेछ । चारै नेताहरुबीच हानाथाप अथवा लुछाचुडी हुनेछ, आफु तथा आफ्ना समर्थकहरु रिझाउनका निमित्त, बढीभन्दा बढी मन्त्रीपद हड्पनका निमित्त । मन्त्री पदको बाँडफाडको चरणमा प्रवेश गरेपछि हुने त्यस्तो घनिभूत छलफलले अर्को रुप धारण गर्ने छ । सबैको उद्देश्य आकर्षक मत्रालय ट्प्काउने बिषयमा केन्द्रीत हुनेछ । देउवाका निमित्त थप भार बहन गर्नुपर्ने हुनेछ । तिनलाई आफ्नै दलका गुटका नेताहरु रामचन्द्र तथा कृष्ण सिटौलाबीच हर्ष ट्रेडिंग गरेर उनीहरुलाई साथ लिनु पर्ने हुन्छ । मिली भगतमा मन्त्रीहरूको चयन हुनेछन् । त्यसरी चयन गरिएका मन्त्रीहरूको दक्षताभन्दा उनीहरुले गर्न सक्ने नेताको अवश्यकताहरुको सम्बोधनले निर्णायक भूमीका खेल्ने छ । मन्त्रीको दक्षता तथा नेतृत्व गर्ने मन्त्रालयको सम्बन्ध झीनो हुनेछ । त्यस्तो अवस्थामा प्रधानमन्त्रीको पदमा हामीले शेरबहादुरलाई देख्ने छौ अनि भगवानसँग खड्गतन्त्रको दाजोमा अलीकती भएपनि फरक होस भनेर प्रार्थना गर्न बाध्य हुनेछौं । त्यस्तो अबस्थामा देश केही महीनाकै निमित्त नै किन नहोस आगोमाथि रहेको तातो तावाबाट हाम फालेर भुंग्रोमा परेको अनुभुती हुने प्रबल संभाबना छ ।
क्रम भंग गर्ने अवसर
नेपाली काग्रेस सभापतिको काँधमा बिगतमा तिनले खेपेकोभन्दा अत्यन्त बढी जिम्मेवारी थोपरीएको छ । यति बिघ्न वजनको भार तिनले बिगतमा कहिले पनि थेग्न परेको थिएन । संकटग्रस्त मुलुकले तिनलाई अबसर दिएको छ । वर्तमानकाल खण्डमा देशले भोग्दै गरेको संकटबाट निकास दिन सके भने सुनौलो अक्षरले इतिहासमा नाम लेखिने छ उनको । समकालीन इतिहासतर्फ नजर घुमाउने हो भने संकटलाई अबसरमा परिणत गर्दा भएको फलिफापको भागीरदार गिरीजाप्रसाद कोइरालाको उदहारण प्रस्तुत गर्न सकिन्छ । दोश्रो जनआन्दोलन पूर्व गिरीजाप्रसाद कोइराला अलोकप्रिय नेतामा दर्ज भएका थिए । तिनले शुरु गरेको शान्ति प्रक्रियाले देशलाई जनयुद्धको चपेटाबाट निकास दियो । तिनको नेतृत्वमा जनसाधारण रैती दुनियाबाट अधिकारसम्पन्न नागरिक भए । देशमा शान्ति सथापना तथा निरंकुश राजालाई विस्थापन गर्ने कार्यको नेतृत्व गरेबापत देशमामात्र होइन विदेशमा समेत तिनी प्रशंसाको पात्र बने । शेरबहादुर देउवाले त्यही भूमिका खेल्न सक्ने छन् यदी चाहे भने । कोभिड महामारीले राष्ट्रलाई तहसनहस तुल्याउने कार्यका निमित्त खडगप्रसादको अकर्मण्यता जिममेवार छ । हाबी भएको खड्गतन्त्रलाई बिधिको शासन प्रणालीको पुनस्र्थापनाले सहजै बिस्थापित गर्न सक्दछ । प्रधानमन्त्री पद सुम्पने नेताहरुसँग तिनले भावि सहकार्य र सहमतीको खाका आजकै दिनमा कोर्नु आवश्यक छ । ब्यक्तिको स्वर्थलाई पन्छाएर राष्ट्रको आवश्यकतालाई ध्यानमा राख्ने सहमती कायम गर्न यस घडीमा त्यति धेरै कठिनाइ छैन ।
नेका पार्टी सभापतीका सामुन्ने तिनले चाहेर अथवा नचाहेरै किन नहोस बिगतमा कहीले पनि थेग्न नपरेको जिममेवारीहरु आइपरेका छन् । ती हुन (१) संबैधानिक इजलासले प्रधानमन्त्री हुने अबसर दियो भने बिपरित दिशा उन्मुख स्वार्थ भएका नेताहरु बीच सहमति कायम गरेर प्रभावकारी सरकार गठन गर्ने । (२) कोभिड महामारीको राप र तापबाट पिल्सेर निराश हुँदै बनेको सरकारप्रतिको नकारात्मक धारणालाई सकारातमक तुल्याउने । अर्थात आम नागरीकको सरकारप्रति गुमेको बिश्वास जगाउँदै उनीहरुले भोग्दै गरेको दुःख कष्ट बिमोचन गर्ने । तथा (३) भाद्र महीनामा हुनै पर्ने कांग्रेसको १४औं महाअधिबेशन सम्पन्न गर्ने । कोभिड महामारीबाट देशलाई निकास दिन जनस्वास्थ्यविदहरुको राय सल्लाहमा संक्रमणको रोकथाम तथा अर्थाबिद्हरुको रायसल्लाह मुताबिक आर्थिक योजना तथा त्यसको कर्यान्वयन गर्नु महाभारत पर्ने कार्यहरु होइनन् । बिश्वले कोभिड महामारीबाट जति हानि नोकसानी व्यहोर्यो त्यति नै धेरै शिक्षा पनि लिएको छ । अन्य मुलुकको सफल अनुभवहरुको ज्ञानअनुभवबाट हामीले पाठ सिकेर सोही अनुरुप आपतकालिन योजना तर्जुमा गरेर कार्यान्वयन गर्न सकिने छ । दलीय ब्यबस्थापनको जिम्मा तिनले सहजै बरिष्ट नेता रामचन्द्र पौडेललाई हस्तानारण गर्न सक्दछन् । देशलाई निकास दिन कटिबद्ध भएर अघि बढेको खण्डमा पार्टीले गुमाएको साख त सहजै फर्की हाल्ने छ ।
प्रतिक्रिया