हेटौंडा – बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।
शनिबार बसेको प्रदेश सभा बैठकबाट प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि संसोधन प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो । ९ जना प्रदेशसभा सदस्यले राखेको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।
नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ नेकपा एमालेको केपी ओली र माधव नेपाल–झलनाथ खनाल पक्ष एक भएका थिए।
बिहीबार प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका थिए। शुक्रबार पाँच घण्टा नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया