पोखरा — नयाँ सरकार गठनका लागि दिइएको समय सकिनैलाग्दा पार्टीले सांसद पदबाट निस्कासन गरेका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा गण्डकी प्रदेशप्रमुखको निवास छिरेर फर्किएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार दिउसो ३ बजेसम्मका लागि नयाँ सरकार गठन गर्न समयसीमा दिएकी थिइन् । बिहीबार नै विपक्षी गठबन्धनले बहुमत पुर्याएर कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेको छ । थापाको पार्टीका अन्य सांसद यो गठबन्धनमा भए पनि थापा भने छैनन् ।
३१ जना सांसद् पोखरेलको पक्षमा समर्थन गर्दै प्रमुख निवासमा सशरीर उपस्थित भएका थिए । तर प्रदेश प्रमुखले अहिलेसम्म कुनै निर्णय गरेकी छैनन् । थापालाई सर्वोच्चले पदमा पुनर्वहाली गरिदिएको थियो ।
यो मुद्दाको अन्तिम किनारा भने लागेको छैन । बिहीबार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत माग्दा प्रदेशसभामा उनी तटस्थ बसेका थिए । त्यसपछि पनि फेरि उनलई पार्टीले सांसदबाट निस्कासन गरेको शुक्रबारको प्रदेशसभा बैठकमा सभामुखले जानकारी गराएका थिए ।
थापा प्रमुख निवासमा पुग्नु र बहुमत पुग्दासमेत मुख्यमन्त्री नियुक्त नगर्नुमा कुनै षड्यन्त्र त छैन भन्ने विपक्षी गठबन्धनका नेताहरुले आशंका गरेका छन् ।
थापाले भने सर्वोच्चको अन्तरिम आदेशसम्बन्धी निवेदन दिन गएको बताएका छन् । दलको नेता परिवर्तन नभएको जानकारी सहितको पत्र बुझाएको भन्ने पनि छ है । प्रदेश संसदीय दलमा राजमोको संसदीय दलको नेता रहेका थापालाई पार्टीले हटाएको थियो । उनले संसदीय दलको नेता परिवर्तन नभएको भन्ने पत्र बुझाएको बताइएको छ ।
प्रतिक्रिया