काठमाडौं । विगत ४ वर्षमा बालश्रमिकको संख्यामा विश्वभर ८४ लाखले वृद्धि भएको छ । कुल १६ करोड पुग्नुका साथै दशौं लाख अन्य बालबालिका कोभिड-१९ को प्रभावका कारणले बाल श्रमको जोखिममा रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र युनिसेफद्वारा जारी पछिल्लो प्रतिवेदनले जनाएको छ ।
बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा जारी गरिएको बाल श्रम २०२० को अनुमान प्रवृत्ति र यसपछिको बाटो शीर्षकको उक्त प्रतिवेदनले बाल श्रमको अन्त्य गर्नेतर्फ भइरहेको प्रगति विगत २० वर्षमा पहिलो पटक रोकिएको हुनाले सन् २००० देखि २०१६ सम्म बाल श्रमिकको संख्यामा ९ करोड ४० लाखले कमी आएको अवस्था उल्टिने खतरा रहेको चेतावनी दिएको छ ।
हाल विश्वभरि रहेका बाल श्रमिकहरूमध्ये ५ देखि ११ वर्ष बीचको उमेर समूहका बाल श्रमिकको संख्यामा उल्लेख्य मात्रामा वृद्वि भई उनीहरुले आधाभन्दा बढी हिस्सा लिइसकेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
श्रमिकको स्वास्थ्य, सुरक्षा तथा मनोसामाजिक अवस्थामा असर पार्न सक्ने भनी परिभाषित जोखिमपूर्ण कार्यमा संलग्न ५ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको संख्यामा २०१६ यता ६५ लाखले वृद्वि भई ७ करोड ९० लाख पुगेको जनाएको छ ।
महामारीको असरस्वरूप २०२२ को अन्त्यसम्ममा थप ९० लाख बालबालिका बाल श्रममा धकेलिने जोखिममा रहेको कुरा पनि प्रतिवेदनमा औंल्याइएको छ। सामाजिक सुरक्षामा पहुँच पुग्न नसकेको खण्डमा भने उक्त संख्या ४ करोड ६० लाख पुग्ने कुरा पूर्वानुमान अध्ययनले देखाएको छ।
२०१६ देखि नै अगाडि बढेका एसिया तथा एसिया प्रशान्त क्षेत्र एवं दक्षिण अमेरिका तथा क्यारेबियन क्षेत्रमा केहि प्रगति हासिल भइरहेकोमा कोभिड-१९ ले त्यसलाई खतरामा पारेको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन र तथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित नेपाल बाल श्रम प्रतिवेदन २०२१ ले नेपालमा बाल श्रमिकको संख्या घट्दो क्रममा रहेको र सन् २००८ मा १६ लाख बाट २०१८ मा आइपुग्दा ११ लाखमा झरेको कुरा उल्लेख गरेको छ ।
खतरायुक्त काम गरिरहेका बालबालिकाको संख्या २००८ मा ६ लाख २० हजार रहेकोमा २०१८ मा २ लाख २० हजारमा झर्दै उल्लेख्य मात्रामा कमी आएको छ ।
यी उपलब्धिहरू अहिलेको कोभिड-१९ महामारीका कारण सिर्जना भएका चुनौतीका कारण जोखिममा रहेका छन्। ‘बालबालिकालाई बाल श्रम र त्यसका अरु जोखिमहरू जस्तै भौतिक र मनोसामाजिक क्षति, शिक्षा बाट बञ्चित हुनुपर्ने अवस्था र शोषणबाट जोगाउन कोभिड-१९ पूर्व नै चुनौतिपूर्ण थियो । नयाँ तथ्यांकहरूले देखाएअनुसार, बालबालिकासहितका परिवारहरूलाई यो महामारीको सामाजिक-आर्थिक प्रभावले धेरै असर गरेको छ । जेठ महिनामा गरिएको द्रूत बालबालिका र परिवार ट्र्याकर सर्वेक्षणका अनुसार ५० प्रतिशतभन्दा बढी परिवारहरूले रोजगार तथा जीविकोपार्जन गुमाएका छन्,’ नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विसले भने‚ ‘पहिलेदेखि नै श्रम गरिरहेका बालबालिकाले कोभिड-१९ को कारण निम्तिएको आर्थिक क्षति तथा विद्यालय बन्द जस्ता कारणले थप समय श्रम गरिरहेका वा चिन्ताजनक अवस्थामा काम गरिरहेका हुनसक्छन् ।’
बाल श्रमिकको संख्यालाई घटाउन यस्ता कार्य गर्न अन्तर्राष्ट्रिय श्रम संगठन र युनिसेफको आग्रह
– घरपरिवारको सामाजिक-आर्थिक अवस्थालाई मध्यनजर गर्दै बालबालिकाको लाभ सम्बन्धमा विश्वव्यापी मान्यता र योग्यता मापदण्डअनुरूप सम्पूर्ण बालबालिकालाई पर्याप्त सामाजिक सुरक्षाको व्यवस्था गर्ने ।
– कोभिड-१९ महामारीपूर्व नै विद्यालय जानबाट वञ्चित रहेका समेत सबै बालबालिकालाई पुनः विद्यालय जाने अवसरका साथै गुणस्तरीय शिक्षामा थप लगानी गर्ने ।
– पारिवारिक आम्दानीमा सघाउनको लागि बालबालिकालाई काममा लगाउनुपर्ने अवस्था रहन नदिनको लागि वयस्कहरूका लागि मर्यादित कामको प्रवर्द्धन गर्ने ।
– बाल श्रमलाई प्रभावित पार्ने हानिकारक लैङ्गिक मान्यता तथा विभेदको अन्त्य गर्ने
– बाल संरक्षण प्रणाली, सामाजिक कार्य, कृषि विकास, ग्रामीण सार्वजनिक सेवा, पूर्वाधार तथा जीविकोपार्जनका क्षेत्रमा लगानी गर्ने ।
प्रतिक्रिया