काठमाडौँ – नेपाली काँग्रेसले क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ्य प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमण नगर्न सरकारलाई चेतावनी दिएको छ । बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणा मार्फत तीन वटा स्थापित क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि सरोकारवालाहरूले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारी रहेको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।
२०४६ सालको परिवर्तन पश्चात् काँग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केहि क्यान्सर अस्पतालहरूको स्वायत्ततामाथि सरकारले बजेटमार्फत आक्रमण गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु गलत भएको शर्माको भनाइ छ।
‘भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, विज्ञ परामर्श र सरोकारवालाहरुसँग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यस पछिल्तिरको निश्चित नियतलाई प्रष्ट गरिसकेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ प्रतिष्ठानहरु यथास्थितिमा राख्न काम चलाउ सरकारलाई काँग्रेसको चेतावनी छ । शर्माले भने, ‘गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न नेपाली काँग्रेस काम चलाउ सरकारलाई चेतावनी दिन दिन चाहन्छ ।’
प्रतिक्रिया