काठमाडौं – संवैधानिक इजलास गठनमा फेरी विवाद देखिन थालेको छ ।
यसअघि रिट निवेदक शेरबहादुर देउवा पक्षका वकिलले दुई न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठमा आपत्ति जनाएपछि विवादमा परेको थियो ।
आइतबार पुनर्गठित इजलासमा केसी र श्रेष्ठको विपक्षमा राय दिएका न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई दोहोरिएपछि सरकार पक्षका वकिलले असहमति जनाएका छन् ।
महान्यायाधिवक्ता रमेश बडाललगत्तै बहसमा उत्रिएका वरिष्ठ अधिवक्ता सुशील पन्तले यो इजलासमा कार्की र भट्टराई बस्न नमिल्ने जिकिर गरे । उनले संवैधानिक इजलासमा रहने अन्य न्यायाधीशको विकल्प रहेको भन्दै अस्ति अलग राय दिएका न्यायाधीश बस्न नमिल्ने बताए ।
पन्तले भने, ‘दुईजना न्यायाधीशले अस्तिको नेकपा सम्बन्धी मुद्दाको उप उत्पादन यो मुद्दा हो भन्नुभएको छ ।
यसको सोर्स अफ नलेज के हो ? न्यायाधीशलाई लाग्यो भनेर भएन इजलासलाई प्रष्ट पार्नुपर्यो, जनतालाई भन्नुपर्यो । उप उत्पादन हो भने कसरी हो ?
यो मुद्दा र त्यो मुद्दाको विपक्षी नै अलग छ । अर्को कुरा एउटा न्यायाधीशले आफूले हेर्छु हेर्दिन भन्न पाउँछ । तर, फलानोले हेर्छ भने म हेर्दिन भन्न पाइँदैन ।
पन्तले कुनै न्यायाधीशले हेर्ने मुद्दा म हेर्दिन भनेर दुई न्यायाधीशले भनेको भन्दै यसमाथि प्रश्न उठाएका छन् ।
प्रतिक्रिया