काठमाडौं – नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीसँग ६ बुँदे शर्त अघि सारेको छ ।
नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले निकालेका निष्कर्षलाई स्थायी कमिटीमा छलफलपछि आजै सार्वजनिक गर्ने तयारी छ ।
अहिले माधव नेपाल पक्षको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यहरुको बैठकमा भएको छलफलको निचोड अनुसार ओलीसँग एकताका लागि आफ्नो बटमलाइन तयार पार्न लागिएको हो ।
नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले ओलीसँग संघर्ष-एकता-रुपान्तपरण र निषेधको नीति लिने निर्णय गरेको नेपालले शनिवार जिल्ला पदाधिकारीहरुसँगको छलफलमा बताएका थिए ।
अहिले ओलीसँग संघर्ष चलिरहेको र त्यसले एकतामा बदलेमा र केपी ओली रुपान्तरण हुन चाहेमा एकता हुने नत्र निषेधको नीति लिएर विद्रोह गर्नुपर्ने नेपाल पक्षको निष्कर्ष छ ।
नेपाल पक्षको स्थायी कमिटी बैठकले एमाले एकताका लागि ओली समक्ष ६ बुँदे प्रस्ताव पारित गरेको ती सदस्यले बताए । उनका अनुसार पहिलो शर्त पार्टीका सबै संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने हुनेछ ।
ओली त्यसमा सहमत भएमा त्यसै दिन जेठ २ अघिको स्थायी कमिटी बैठक बस्नुपर्ने र त्यस बैठकले तल्ला कमिटीहरुको समायोजनका लागि कार्यदल गठन गर्नुपर्ने दुई प्रस्ताव हुनेछन् । त्यस्तै ओलीले नवौं महाधिवेशनको निर्णय र नीति मान्ने र सामुहिक निर्णयका आधारमा चल्ने प्रतिबद्धता जनाउनु पर्ने र प्रतिनिसभा विघटन गलत कदम भनेर स्वीकार गर्नु पर्ने शर्त समेत नेपाल पक्षले अघि सारेको छ । यी शर्तलाई प्रस्तावका रुपमा बैठकले तयार पारेपछि आजै सार्वजनिक गर्ने तयारी छ ।
प्रतिक्रिया