देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उदयपुरमा कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

देशान्तर

उदयपुर । कोरोना सङ्क्रमणका कारण उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइँला छोरा तुलबहादुर मस्राङ्गी मगरको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोरा पुस्कल मस्राङ्गी मगरको मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि पुस्कललाई विराटनगरस्थित नोवेल शिक्षण अस्पताल र तुलबहादुरलाई विराट मेडिकल कलेजमा उपचार भएको थियो । उपचारकै क्रममा १५ गते राति तुलबहादुरको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनको शव १६ गते गाउँमै ल्याएर व्यवस्थापन गरिएको थियो ।

परिवारको सदस्यको मृत्युपछि काजकिरिया सुरु भएको तेस्रो दिन जेठ १८ गते जेठो दाजु पुस्कलको पनि नोवेल अस्पतालमा मृत्यु भएको सुवेदीले जानकारी दिए । स्थायी घर रौतामाई–७ मुर्कची भएर त्रियुगा नगरपालिका–११ गाईघाटमा बस्दै आएका तुलबहादुरको श्रीमती, एक छोरा र दुई छोरी छन् भने मुर्कुची बस्दै आएका पुस्कलका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

दुई साता अघि एकै पटक घरका तीन दाजुभाइमा कोरोना देखिएपछि उनीहरु मदन भण्डारी आँखा अस्पताल गाइघाटको आइसोलेसन वार्डमा उपचार गर्दै थिए । उपचारका क्रममा पुस्कल र तुलबहादुरको अवस्था गम्भीर बन्दै श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि विराटनगर पठाइएको थियो ।

आज बिहान होम आइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

यसरी एउटै घरका दुई छोरा र आमाको कोरोनाका कारण मृत्यु भएको जिल्लाकै पहिलो घटना भएको प्रमुख सुवेदीले बताए । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या आज बिहानसम्ममा ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।