देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई महिना काठमाडौंमा मेलम्चीबाट पानी नआउने

देशान्तर

काठमाडौं – आगामी असार १ देखि मेलम्चीबाट करिब दुई महिना काठमाडौंमा पानी नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि – प्रोटोकल पुरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएको भए त्यसको समान पनि गर्नेछन् ।

यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो ।

‘सुरुङमा कुनै समस्या नदेखिएमा १५ दिनमा भित्रको सुपरीवेक्षणको काम सकिन्छ,’ प्रवक्ता पन्तले भने,’त्यसपछि सुरुङमा पानी भर्न १५ दिन लाग्छ, समस्या देखिएमा भने भित्र सुधारको काम गर्न थप समय पनि लाग्न सक्छ ।’

पन्तकाअनुसार करिब दुई महिनमा अब मेलम्चीको पानी काठमाडौं आउने छैन ।

मेलम्चीको १० फागुनमा सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो । सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो ।

कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने थियो । त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भएरनभएको अध्ययन गर्नुपर्ने थियो ।

तर, प्रधानमन्त्री कार्यालयले उद्घाटन छिटो गर्न सुरुङ खाली नगर्ने र सुरुङमा पानी हाल्दा प्रभाव परेरनपरेको अध्ययन नगर्न आयोजनालाई दबाव दिएको थियो ।