काठमाडौंमा विहीबारदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ ।
आज बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीको लागि किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरिएको जानकारी दिनुभयो ।
आज बिहान १० बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । बैठकले थप एक साता निषेधाज्ञा थप्ने तयारी समेत गरेको छ ।
अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक र निजी सवारी भने नखुल्ने भएको छ । भट्टराईले अहिले नै सार्वजनिक सवारी खोल्ने विषयमा छलफल नै नभएको बताउनुभयो ।
निजी सवारीको हकमा पनि अत्यावश्यक काम बाहेक हिँडडुलमा प्रतिबन्ध नहटाइएको भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया