देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य सामग्रीको अभावमा बिरामीको ज्यान गयो : मानव अधिकार आयोग

देशान्तर

काठमाडौं – कोरोना महामारीको बेला कास्की, मोरङ, झापा लगायातका जिल्लाहरूमा अक्सिजन, आइसियु तथा भेन्टिलेटरको अभावमा बिरामीहरूको ज्यान गएको राष्ट्रिय मानव अधिकार आयोगको ठहर छ ।

आयोगले आफ्ना विभिन्न शाखाबाट गरेको अनुगमनबाट अत्यावश्यक स्वास्थ्य उपकरणको अभावमा बिरामीको ज्यान गएको ठहर गरेको हो ।

अनुगमनका क्रममा दम, मधुमेहलगायतका अन्य दीर्घ रोगीहरूले नियमित सेवन गर्नुपर्ने औषधिको अभाव देखिएको र व्यवसायीहरूले हालको मूल्यमा सिटामोल उत्पादन गर्न नसकिने समेत आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा प्रदेश १ का पहाडी जिल्लामा पीसीआर परीक्षणको व्यवस्था हुन नसकेको, खाद्यान्न तथा औषधिको आपूर्तिमा कमी हुँदा अभाव देखिन थालेको समेत बताएको छ ।

साथै केही जिल्लामा पसल खोल्दा प्रहरीबाट कानुनबमोजिम कारवाही नभई निर्घात कुटपिट तथा दुव्र्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार यतिबेला गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण हुन सकेको छैन भने दुई वर्षमुनिका बालबालिकाले नियमित खोप लगाउन पाएका छैनन् । मोरङको विराटनगरमा सञ्चालित कोभिड विरुद्धको खोप लक्षित वर्गभन्दा अन्यले लगाएको समेत आयोगले अनुगमनको क्रममा पाएको छ ।

फ्रन्टलाइनरले जोखिम भत्ता पाउन नसकेको, स्वास्थ्यकर्मीहरू आक्रमण र दुव्र्यवहारको सिकार हुनुपरेको, श्रमिकहरु, गर्भवति महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूमा मानसिक असर परेको तथा हिरासत, थुनुवा कक्ष तथा कारागारहरूमा क्षमता भन्दा अत्यधिक बढी कैदी बन्दी राखिएकाले कोरोना संक्रमण हुन सक्ने सम्भावना रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।