काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई पनि पत्राचार गरेकी छन् । राष्ट्रपति भण्डारीले पुटिनलाई नेपाललाई खोप खरिदको लागि सहजीकरण गरिदिनको लागि पत्र पठाएको परराष्ट्र मन्त्रालयका एक पदाधिकारीले जानकारी दिए ।
राष्ट्रपति कार्यालयले जेठ १४ गते ९शुक्रबार० परराष्ट्र मन्त्रालय हुँदै पुटिनलाई पत्राचार पठाएको छ । तर उक्त पत्र मस्कोस्थित नेपाली राजदूतावासले रुसको विदेश मन्त्रालयमा गएर हस्तान्तरण गर्न अझै बाँकी रहेको छ । उनले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप सहयोगको लागि अनुरोध गरेकी हुन् । उक्त खोपलाई नेपालको स्वास्थ्य सेवा विभागले पनि आपतकालीन प्रयोगको लागि मान्यता दिइसकेको छ ।
कोरोना भाइरसको दोस्रो लहर बढेपछि नेपालमा संक्रमण रोक्नको लागि भन्दै राष्ट्रपति भण्डारीले सुरुआतमा जेठ १२ गते दक्षिण छिमेकी भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्राचार गरेकी थिइन् । उनले कोविन्दसँग नेपाललाई खोप सहयोग गर्नको लागि अनुरोध गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले त्यसको भोलिपल्ट जेठ १३ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसँग खोप खरिदमा सहजीकरण गरिदिनको लागि अनुरोध गर्न टेलिफोन संवाद गरेकी थिइन् । उक्त अवसरमा सीले नेपाललाई १० लाख खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त पनि गरेका थिए ।
त्यसपछि राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति पुटिनलसँग टेलिफोन संवाद गर्ने खोजेकी थिइन् । तर टेलिफोन संवाद सम्भव नभएपछि पत्राचार नै गर्ने निर्णयमा पुगेकी हुन् । राष्ट्रपति भण्डारीले जेठ १३ गते नै अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र पठाएर नेपाललाई खोप सहयोगको लागि अनुरोध गरेकी हुन् । उक्त पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले परराष्ट्र मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई शनिबार हस्तान्तरण गरिसकेका छन् ।
प्रतिक्रिया