काठमाडौं – नेकपा एमालेका नेता घनश्याम भुसालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दा आफूले संसदीय मर्यादा उल्लंघन गरेको स्वीकारेका छन् । संविधान र राजनीतिका लागि आफूले उल्लंघनको विकल्प रोजेको उनको स्पष्टीकरण छ ।
देउवाको पक्षमा हस्ताक्षर गरेको विषयलाई लिएर भइरहेको टिप्पणीबारे सामाजिक सञ्जालमा आफ्नो स्पष्टीकरण दिएका भुसालले भनेका छन्, ‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगें ।’
उनले अघि भनेका छन्, मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहने नेपालको आकांक्षाको पक्षमा हो, जसका लागि लाखौं नेपालीको रगत–पसिना बगेको छ ।’
गत वर्ष ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेश, नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता भंग, संसद विघटन र मध्यावधि चुनावको घोषणा संविधान असफल बनाउने षडयन्त्रअन्तर्गत भइरहेको उनको निष्कर्ष छ ।
भुसालले नयाँ खिलराजको उदय गराउने र ‘नयाँ’ संविधानको कोर्सतिर मुलुकलाई लैजाने प्रयास भइरहेको समेत बताएका छन् ।
प्रतिक्रिया