देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गणतन्त्र दिवस मनाइँदै : समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनामा थप उत्प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

देशान्तर

काठमाण्डौ – आज गणतन्त्र दिवस । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

कोरोना सङ्क्रमणको जोखिमका कारण दिवसका अवसरमा विशेष कार्यक्रम गरिएको छैन । लामो शाहवंशीय राजपरम्परा अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । सङ्घीय गणतन्त्र स्थापना पछिका १३ वर्ष सोचेजति र नागरिकले आशा गरेअनुसार उपलब्धि हासिल नभएको विश्लेषण हुँदै आएको छ । पछिल्ला वर्ष भ्रष्टाचार तथा दण्डहीनता बढ्दो छ । कोरोना महामारीको व्यवस्थापनमा हेलचेक्र्याइँले पनि राज्यप्रति नागरिकहरूको भरोसा कम हुँदै गएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा शुभकामना दिँदै समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्। उनले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि दिवसले थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि शुभकामना सन्देश दिएका छन्।